कृषि र किसान

लम्पी स्किनले सिन्धुलीमा ३९० पशु मरे, १९ हजार बढी संक्रमित

राधिका बुढाथोकी

सिन्धुली । लम्पी स्किन रोगका कारण सिन्धुलीमा ३९० वटा पशुचौपाया मरेका छन् । यो रोग प्रकोपका रूपमा फैलिँदै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका सूचना अधिकारी तथा पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १९ हजार ४४७ वटा पशु संक्रमित छन् । बढी संक्रमित हुनेहरूमा गाई र गोरु छन् । सबैभन्दा बढी फिक्कल गाउँपालिकामा ६ हजार पशु संक्रमित रहेका र ५२ वटा पशुको मरेका छन् ।

सुनकोशी गाउँपालिकामा तीन हजार चार सय पशु संक्रमित छन् । २० वटा पशु मरेमा छन् । दुधौली नगरपालिकामा तीन हजार पाँच सय पशु संक्रमित छन्। ३० वटा पशु मरेका छन् । कमलामाई नगरपालिकामा एक हजार तीन सय संक्रमित छन् । ५७ वटा पशु मरेका तथ्यांकले देखाएको छ ।

यस्तै, मरिण गाउँपालिकाका एक हजार १० वटा पशु संक्रमित छन् । रोग संक्रमणकै कारण ३५ वटा पशु मरेका छन् । हरिहरपुरगढी गाउँपालिकाका एक हजार एक सय पशु संक्रमित छन् । १५ वटा मरिसकेका छन् ।

गोलञ्जोर गाउँपालिकाका ७११ पशु संक्रमित छन् । ८३ पशुको मृत्यु भएको छ । तीनपाटन गाउँपालिकाका दुई हजार ३३६ पशु संक्रमित, ३० पशु मरेका छन्। घ्याङलेख गाउँपालिकामा ९० वटा पशु संक्रमित छन् भने १५ वटा पशु मरेका पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो ।

झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुँठी आउने, पशु वस्तुलाई कमजोर हुन्छ । रोग लागेका गाईभैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने पशुचौपायामा गर्भपतनको समस्या देखिने उहाँले बताउनुभयो।

संक्रमण फैलिन नदिन गोठ वरिपरि सफा राख्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उहाँको सुझाव छ । यस रोगको रोकथामा र न्यूनीकरणका औषधि तथा खोपको अभाव भएको उहाँको भनाइ छ ।हिमालय टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button