मूल खबर

पाँच हजार रुपियाँमा अब छयसट्ठी पानाको राहदानी

चाँदनी हमाल
काठमाडौँ । ६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो।

वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो।

यो राहदानी सन् २०२२ मे २२ तारिखदेखि वितरण सुरु भएको थियो। सो ६६ पानाको राहदानी जिल्लाबाट लिँदा १० हजार रुपियाँ र अनलाइन फाराम भरेर विभागबाट लिँदा २० हजार रुपियाँ दस्तुर तोकिएको थियो। साधारण प्रक्रियाबाट ३४ पानाको साधारण राहदानी पाँच हजार रुपियाँमा वितरण हुँदै आएकोमा अब सोही दस्तुरमा ६६ पानाको राहदानी पाइने भएको छ।

महानिर्देशक यादवले भन्नुभयो, “एक वर्षमा जम्मा पाँच हजार थान मात्र ६६ पानाको राहदानी वितरण भयो। त्यसै राख्नुभन्दा वितरण गरेर स्टक सक्ने योजना हो।” खर्च बढी भए अनुसार माग नहुँदा ६६ पानाको राहदानी खेर जाने अवस्थामा पुगेको थियो। उहाँका अनुसार जिल्लाबाट लिँदा पाँच हजार रुपियाँ र विभागबाट लिँदा १२ हजार रुपियाँमा ६६ पानाको राहदानी पाइने छ।

विभागले ६६ पानाको राहदानी एकै पटक चार लाख थान छपाइ गरेको थियो। विदेशी कम्पनीले गर्ने छपाइको मूल्य प्रतिराहदानी १०.९५ अमेरिकी डलर परेको छ। महँगोमा छपाइ गरिएकाले वितरण गर्दाको मूल्य पनि ३४ पानाको तुलनामा झन्डै दोब्बर कायम गरिएको थियो। जसका कारण सेवाग्राहीले पाना सकिएको खण्डमा बरु नवीकरण गरेर ३४ पानाकै लिने तर सुरुवातमै ६६ पानाको राहदानी लिन नखोज्ने गरेका कारण ती राहदानी विभागको गोदाममै थन्किएका हुन्। साधारण राहदानीको तुलनामा झन्डै दोब्बर पाना भए पनि त्यसको उपयोगिता सबै सेवाग्राहीलाई नहुने देखिएकाले ६६ पानाको राहदानी छपाइ बन्द गरिने भएको छ।

धेरै यात्रा गरिरहने सेवाग्राहीलाई बारम्बार भिसाको छाप लगाउनुपर्दा मात्र ६६ पानाको राहदानीको आवश्यकता पर्छ तर त्यस खालको सेवाग्राहीको अभाव नेपालमा देखिएकाले छपाइ नै बन्द गरेर साधारण राहदानी बढी छपाइमा विभागले जोड दिने भएको हो। विदेशमा कामका लागि जाने, अध्ययनका लागि जाने र घुमफिरमा कहिलेकाहीँ जाने सेवाग्राहीको सङ्ख्या बढी रहेको छ। जुन काम धेरैजसो सेवाग्राहीले राहदानीको म्याद सकिने अवधिभित्र थोरैले मात्र एकाध पटक माग गर्ने गरेका छन्। अतिरिक्त सुविधा नभएको र पाना मात्रै धेरै भएकाले पनि ६६ पानाको राहदानीमा सेवाग्राहीको आकर्षण कम देखिएको हो।

मन्त्रीपरिषद्को जेठ २४ गतेको निर्णय अनुसार राहदानी नियमावली नै संशोधन गरेर ६६ पानाको राहदानीको दस्तुर ३४ पानासरह कायम गरिएको छ। अब आइन्दा नयाँ विद्युतीय राहदानीको फाराम भर्दा ६६ पानाको राहदानी लिनका लागि निवेदन भर्न पनि विभागले अनुरोध गरेको छ। सामान्य राहदानीका रूपमा ३४ पानाको राहदानीको वितरण पनि यथावत् रहेको विभागले जनाएको छ।

नेपालमा २०७८ मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी वितरण सुरु भएको हो। अनलाइन वितरणलाई सहज बनाउँदै अहिले एक महिनाअघिसम्मको बुकिङ गर्न सकिने गरी सेवा विस्तार गरिएको छ।गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button