
कविता
बर्षेनि वर्षा झरी लागेपछि धमाधम लाग्छ असारे विकाश ,
बर्षदिन पनि टिक्न नसक्ने बिडम्बना ! बजेट रकमकाे नाश !
टाल ,टुल, खाल्डाखुल्डी मै सकिने भाे लाखौं रकम ग्वाम्म ,
गुणस्तर काे कुरा छाडाैं , अर्काे पाली बजेट पारूँम्ला झ्वाम्म ।
थाहा छ ,कनिका छरे झै बजेटले खासै राम्रो काम हुन्न भन्ने ,
भाेटकाे राजनीति गर्न काम त देखाउनु पर्छ भन्नछन गन्ने मान्ने!
जनता पनि कानमा तेल हाली आँ जे गरून गरून भन्छन ,
फेरि चर्काे स्वरमा गाम ठामकाे विकाश नेताले गरेन भन्छन ।
कस्ले गर्ने चिन्ता चासाे कस्ले गर्ने विकाशकाे खाेजनीति ,
भ्रम ,झुटकाे पुलिन्दामा आखिर जस लिने गजबकाे राजनीति !
सस्ताे लाेकप्रियताका लागि कनिका छर्ने बजेटकाे लहर छ ,
आसेपासेहरूलाई रिझाउन ,खुशी पार्न सक्नु नै ठूलाे रहर छ ।
नागरिककाे करकाे दुरुपयोग नहाेस बाेरू , हचुवामा असारे विकाश ,
परिमाण भन्दा नि परिणाम मा देखिने बजेटले पाओस निकाश !
रकम फ्रिज हाेला कार्यकर्ता रिसाउलान भन्ने पिरले कामकाे हताराे छ ,
प्राथमिकता नहेरी पहुँचकाे भरमा काम सकि रकम सक्ने चटाराे छ ।
विकाशकाे नाममा असारे खेती नगरेकै कति बेस ,
जन जनले खबरदारी गरि बनाऊ गाम ,ठाम र देश ।।



