मूल खबर

ललिता निवासको जग्गा संरक्षण गर्न कामपा प्रहरी पस्यो

तीन जना पक्राउ

ईश्वरराज ढकाल
–सातदिने अल्टिमेटम
–टहरा खाली गर्न आज सूचना जारी गर्दै
–हिजैबाट नापजाँच शुरू
–तीन दिनभित्र तारबार शुरू हुने
–भाटभटेनी गोदाम र एनआरएनएको भवन खाली गर्न समन्वय गरिने
–कामपा प्रवक्ता भन्छन् : सार्वजनिक जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुचर्चित ललिता निवासको जग्गा संरक्षण शुरू गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वालुवाटारस्थित ललिता निवासमा जग्गा घोटाला कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, धर्मप्रसाद गौतम र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलाई पक्राउ गरी अनुसान्धान शुरू गरेपछि कामपाले सो काण्डमा घोटाला भएको भनिएको जग्गा संरक्षण शुरू गरेको हो ।

सीआईबीले ललिता निवास परिसरको १ सय ४३ रोपनी जग्गा संरक्षण गर्न कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आइतबार वालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको थियो । जग्गामा पुगेलगत्तै कामपाले नापजाँच शुरू गरेको थियो ।

नगरप्रहरी बल प्रमुख पाण्डेले सो जग्गामा रहेका ८ वटा ठुलो टहरा तत्काल खाली गर्न निर्देशन दिनुभएको थियो । टोलीले भाटभटेनीको गोदाम घर र एनआरएनएको मुख्यालय रहेको भवनको अवस्था पनि अवलोकन गरेको थियो । अवलोकनपछि कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अधिकांश भाग खाली देखियो । निर्माण गरिएको गोदाम घर हटाउन आदेश दिएका छौं ।’ उहाँले निर्माण सामाग्रीसहित विभिन्न वस्तु भण्डारण गरिएको ठुलाठुला टहरा हटाउन करिब एक साता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाँच शुरू गरेको छ ।

एनआरएन र भाटभटेनीको गोदाम खाली गर्ने विषयमा कामपाले सरकारसँग समन्वय गर्ने भएको छ । महानगरले आज सार्वजनिक सूचना जारी गर्नेछ । सोमबार सार्बजनिक सूचना जारी भएपछि सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी कामपाको छ । पक्राउ परेको भाटभटेनीका सञ्चालक गुरुङसहितको टोलीले एनआरएनएलाई बिक्री गरेको जग्गामा बनेको घरको लालपुर्जा र नक्सा पास भइसकेको छ ।

नापी कार्यालयले उक्त जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढाइसकेको कारण तत्काल भाटभटेनीको गोदाम र एनआरएनएको भवन खाली गर्ने अवस्था छैन । यद्यपि, कसरी खाली गर्न सकिन्छ भन्ने विषयमा कामपाले आन्तरिक तयारी शुरू गरेको छ । कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व कामपाको भएकोले सोहीअनुसार कारबाही शुरू गरेको जानकारी दिनुभयो । महानगरले आज सोमबार सूचना जारी गरी कति दिनमा टहरा खाली गर्ने भन्ने विषयमा जानकारी गराउने पनि उहाँले बताउनुभयो ।

कामपाले सो जग्गामा पहिलो चरणमा घेराबार गर्ने, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न शुरू गरेको हो । जग्गा अवलोकन गर्न मेयर सचिवालय, नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली, कामपा नक्सा विभागका इन्जिनियर, वडा नं ४ का जनप्रतिनिधि र प्रहरी टोली पुगेको थियो ।

महानगरले आज सोमबारबाट जग्गामा तारबार लगाउन शुरू गर्नेछ । त्यसपछि अदालतको निर्णयअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा थप निर्णय हुने कामपाले जनाएको छ । सीआईबीले अनुसन्धान शुरू गरेपछि लालपुर्जा बदर गर्ने प्रक्रिया अघि बढीसकेको छ । यसअघि सरकारी जग्गा किर्ते गरेको आरोपमा ब्युरोले गत मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । तर, अदालतको ‘स्टे अर्डर’ पाएको कारण ३ जनालाई भने कागज गराएर छाडिएको थियो।

सीआईबीको अनुसन्धानमा पक्राउ परेका गिरोहले पहिलो चरणमा एक सय १२ रोपनी जग्गा किर्ते गरी आफ्नो नाममा सारेका थिए । पक्राउ परेका गुरुङ र उहाँको नातेदारको नाममा २९ रोपनी जग्गा देखिएको थियो । ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध मुद्दा चलाइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

गुरुङविरुद्ध अख्तियारले करिब ३९ करोड २७ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ । यसअघि उक्त मुद्दामा गुरूङ ३ करोड रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । हिरासतमा रहेका गुरुङसहित ३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

पक्राउ परेका गौतमको नाममा ३ रोपनी र शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो काण्डको अनुसन्धानमा कुनै दबाब नदिने बताएपछि सीआईबीको टोली थप सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ । महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो ।

अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले जनाएको छ । उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न समेत सरोकारवालालाई जानकारी गराएको छ ।

तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरी ब्युरोले जानकारी दिएको छ ।नेपाल समाचारपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button