
काठमाडौं । प्रदेश सभाका सभाध्यक्ष इस्माइल मन्सुरीसहितको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो ।
कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको सभाध्यक्ष मन्सुरीले घोषणा गर्नुभयो ।
उहाँले पनि थापाको पक्षमा मतदान गर्नुभएको थियो ।
मत सच्याउन तोकिएको तीन मिनेटको समयमा सभाध्यक्ष मन्सुरीले अर्का ज्येष्ठ सदस्य गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि प्रमुख प्रतिपक्ष दलका सांसदले नाराबाजी गरेका थिए ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले आज विश्वासको मत लिनुभएको हो । सभामुख रित्त रहेको कोशी प्रदेशमा उपसभामुख सृजना दनुवार सोमबार विहान उपचारका लागि भन्दै काठमाडौं हिड्नुभएको थियो ।
त्यसअघि उहाँले अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोक्नुभएको थियो । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गर्नुभएको थियो ।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसक्नुभएको छ भने वर्णानुक्रमअनुसार रहनभएका अम्बरबहादुर बिष्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिनुभएको थियो ।सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेख्नुभएको हो ।ehimalayatimes.com



