
इटहरी । गौहत्या विरुद्ध धरानमा आज शनिवार हुने सभा सम्मेलन तथा शान्ति र्यालीलाई मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाले हजाराै सर्वसाधारणहरूले सास्ती पाएका छन् । धरान उपमहानगरमा शुक्रवार राती १२ बजे देखि लागु हुने गरी शनिवार रातको १२ बजे सम्म निषेधाज्ञा जारी गरेपछि लामो तथा छोटो दुरीका सवारी साधनहरू इटहरी र तरहरामा रोकिएका छन् भने हजाराै यात्रुहरू अलपत्र परेका छन् ।
इटहरी ,धरान हुँदै पूर्वी पहाडी जिल्लाहरू धनकुटा , तेह्रथुम , सङ्खुवासभा तर्फ छुटेका यात्रुवाहक बस तथा साना सवारीहरू पनि इटहरी र तरहरामा रोकिएका छन् । आज (शनिवार ) हुने शान्ति र्यालीलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाका मुख्य सहरहरूमा बाक्लो रूपमा सुरक्षाकर्मीहरू परिचालन गरेको छ ।
सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले सावधानी अपनाएको र ठाउँ ठाउँमा पहरी परिचालन गरिएको जिल्ला प्रशासनको कार्यालय सुनसरीले जनाएको छ । यता प्रशासनले निषेधाज्ञा जारी गरे पनि तय भइसकेका कार्यक्रमहरू गरेरै छाडने विभिन्न सामाजिक सङ्घ संस्था लगायत हिन्दु धर्म गुरुहरूले अडान राख्दै आएका छन् ।पूर्वेली न्यूज



