स्वास्थ्य

पाठेघरको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ ।

चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिनुभयो ।

उहाँले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै आएको गाभीलाई थप खोपका लागि आग्रह गरिएको बताउनुभयो । उहाँले सन् २०२४ सम्ममा लक्षित वर्गसम्म पुर्‍याइने जानकारी दिँदै त्यसका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

खोप शाखा प्रमुख डा. अभियान गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको जानकारी दिँदै सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।

उहाँले उक्त खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज बाँकेमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको जानकारी दिनुभयो ।

सबैभन्दा पहिले भदौ २७ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट खोपको शुभारम्भ गर्नुहुने छ । खोप कोशी अस्पतालमा भदौ २७ गते, नारायणीमा भदौ २९ गते, प्रसूति गृहमा भदौ २७ गते, गण्डकीमा २७ गते, भेरी २७ गते, डडेलधुरा अस्पतालमा भदौ २७ गते र सुर्खेत अस्पतालमा भदौ २७ गतेदेखि लगाइने छ ।

डा. गौतमका अनुसार एचपिभी एक किसिमको विषाणु हो । संसारका विभिन्न देशमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी एचपिभीले गराउँछ ।

एचपिभीको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीको दुई वटा प्रजातिबाट भएको पाइन्छ । यसले पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button