खबर

रूपान्तरणका लागि तीनमहिने अभियान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीको तीनमहिने अभियानले पार्टीलाई रूपान्तरण गर्ने कुरा मुख्य भएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी रूपान्तरण गरी जनमुखी बनाइने उल्लेख गर्नुभयो।

“हामी मुख्य रूपमा आत्मशुद्धि, आत्मसुधार, आत्मनवीकरण, आत्मअभिवृद्धिको चरणबाट अघि बढ्दै छौँ। यो अभियानमा आफूलाई रूपान्तरण गर्ने कुरा मुख्य हो,” उहाँले प्रस्ट पार्दै भन्नुभयो, “तीनमहिने अभियानबाट पार्टी चलायमान, गतिशील, जनमुखी हुँदै गएको छ।” सरकारले दैनिक सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र कानुन निर्माणमा गरेका काम प्रचार गर्ने र स्वामित्व लिने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले अभियानका दौरानमा पार्टी र जनवर्गीय सङ्गठनमा देखिएका अन्तरविरोध तथा द्वन्द्व हल भएर सम्पूर्ण पार्टीपङ्क्ति अभियानमा केन्द्रित हुँदै गएको दाबी गर्नुभयो।

नेपाली विदेश जाने क्रम गुणात्मक रूपमा बढेको बताउँदै उहाँले यसले पार्टीलाई चिन्तित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “युवालाई देशमै राख्ने उपाय खोजी गर्नुपर्ने छ। विदेशमा भएका युवालाई फर्काउन के के उपाय हुन सक्छन्, त्यसमा लाग्नुपर्ने देखिएको छ। गाउँमा अभियान सञ्चालन गर्ने क्रममा यो असाध्यै खड्किएको छ।

विदेश पलायन राष्ट्रिय समस्याका रूपमा देखिएको छ।” विदेशमा भएका युवालाई स्वदेश फर्काउने र स्वदेशमा भएका युवालाई स्वरोजगार बनाउन नसके समृद्धि हासिल गर्ने कुरा निरर्थक हुने उहाँको भनाइ छ।

पार्टी उपाध्यक्ष सापकोटाले माओवादी धारसहित अन्य कम्युनिस्ट क्रान्तिकारी पार्टीसँगको एकतालाई अघि बढाइने उल्लेख गर्नुभयो। उहाँले कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न मुख्य नेतृत्वले समय दिन नसकेकाले ढिला भएको स्वीकार गर्नुभयो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर दाहालले पार्टीको अभियान प्रभावकारी रूपमा भइरहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “अभियानमा जनताले हामीले माया मारेका छैनन्। जनताले त ‘तपाईंहरूले माया मार्नुभयो, तपाईंहरू सच्चिएर आए साथ दिन तयार छौँ भनेका छन्। उत्पीडित समुदायलाई परिवार पुनर्मिलनजस्तो हुन पुगेको छ।”

पार्टी प्रचार विभाग सचिव एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले माओवादी अभियान ८० प्रतिशत वडामा पूरा भइसकेको प्रतिवेदन प्रस्तुत गर्नुभयो। अभियानमा २५ लाख जनतासँग भेट्ने कार्यक्रम बनाए पनि त्योभन्दा बढी जनतासँग भेटघाट र छलफल हुने देखिएको उहाँले बताउनुभयो। सात प्रदेशसहित तीन गैरभौगोलिक प्रदेशमा व्यवस्थित र प्रभावकारी रूपमा अघि बढेको प्रतिवेदनमा उल्लेख छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button