मूल खबर

माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्र निषेधित, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते मेडिकल व्यावसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गर्ने भनिएको आमसभालाई केन्द्रित गरी सोमबारदेखि एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
निषेधित क्षेत्रहरूमा पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि

बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरवरपरका क्षेत्रसम्म समावेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार बेलुका निषेधाज्ञा जारी गर्दै २०८० साल मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रममा रोक लगाउनुभएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम सुरक्षा समिति काठमाडौंको सिफारिसका आधारमा निषेधाज्ञा जारी गरिएको हो ।माइतीघरदेखि नयाँ बानेश्वरसम्मका क्षेत्रमा सरकारी तथा संवेदनशील निकायहरू रहेकाले पनि त्यहाँ प्रदर्शन गर्न नदिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नेपालसमाचारपत्रलाई बताउनुभयो ।

दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने योजना सार्वजनिक गरेकोले शान्ति सुरक्षामा खतरा हुनसक्ने भएकोले जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । प्रशासनले दुवै पक्षको प्रदर्शन गर्ने ठाउँ जुधेका कारण दुवै पक्षलाई अन्य र फरक–फरक ठाउँमा प्रदर्शन गर्न सुझाव दिएको बताए पनि कुन–कुन ठाउँमा प्रदर्शन गर्ने भन्नेबारे भने निर्णय भइनसकेको प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका व्यवसायी प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button