खबर

अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपियाँ पहिलो किस्ताको रकमस्वरूप निकासा गरेको छ ।

प्राधिकरणले जाजरकोट र पश्चिम रूकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड गरी १ अर्ब ४१ करोड रुपियाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको नाममा सोमबार निकासा गरेको जनाएको हो ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधुरी ५० हजार रुपियाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूचीअनुसारको निवेदन दिएलगत्तै पहिलो किस्तास्वरूप २५ हजार रुपियाँ पाउने प्रबन्ध गरिएको छ । साथै अस्थायी आवास निर्माण सम्पन्न भएपछि बाँकी दोस्रो किस्ता २५ हजार रुपियाँ निकासा हुनेछ ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button