मूल खबर

श्रीमानले गरे श्रीमतीको हत्या

लीलाराज खड्का

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।

३६ वर्षीय श्रीमान् सुवास लिम्बू र उहाँकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू दुवैजना मृत फेला परेका छन् । जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । सुवासले लेखेको सुसाइट नोटसमेत प्रहरीले फेला पारेको जनाएको छ । श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको कुरा सुवासले उल्लेख गरेको प्रहरीको भनाइ छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेको पाइएको स्थानीयको भनाइ छ । सुवासका दाजुलगायतले राति ११ बजे घरमा बसेर उनीहरूबिचको झगडा मिलाएको स्थानीयले जनाएका छन् ।

उनीहरूको झगडा मिलाएपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी रिजालले बताउनुभयो । लिम्बू दम्पतीका तीनजना नाबालक छोराछोरी छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button