हेड लाइन

१४ वर्ष पुग्नेबित्तिकै बिहे

सिङ्गै गाउँमा बालविवाहित मात्रै

दयाराम पण्डित
बाजुरा ।

हिमाली गाउँपालिका–५ क्युडीकी शिवकली रोकाया उमेरले २० वर्षकी हुनुभयो। उहाँ दुुई छोरा र एक छोरीकी आमा बनिसक्नुभएको छ। पढ्नेलेख्ने तथा वृद्धि विकास गर्ने १४ वर्षको कलिलो उमेरमा शिवकलीले विवाह गर्नुभयो।

झुत्रो पहिरन, काखमा लालाबाला च्यापेकी शिवकलीका बच्चा र आमाको स्वास्थ्य अवस्था निकै कमजोर देखिन्थ्यो। सामान्य लेखपढ गरेकी शिवकलीले भन्नुभयो– ‘बालखैमा विवाह गरेर अहिले दुुख्ख भयाका छन्।’

शिवकलीको गाउँमा आधारभूत तहसम्म पढाइ हुन्छ। घरको आर्थिक अवस्था निकै कमजोर भएकाले शिवकलीले पढ्न पाउनुभएन।

उहाँले भन्नुभयो– ‘हामीजस्तो साँझबिहान छाक टार्न मुस्किल पर्ने परिवार भएकाले पढ्न स्कुल जान पाइएन, पढलेख भन्ने पनि कोही भएनन्, घरमा शिक्षित, पढेलेखेका कोही भए पढ्नुपर्छ, लेख्नुपर्छ भन्दा हुन् । मेरा त त्यसो भन्ने पनि कोही भयाइन्। अहिले आफू पनि बच्चाजस्तो नै छु, त्यसैमा बालबच्चा हुर्काइरहेको छु।’

क्युडीमा कलिलै उमेरमा विवाह गर्ने शिवकली एक्ली भने होइनन् । शिवकलीजस्तै थुप्रै कलिला युवतीका काखमा लालाबाला छन् । त्यही गाउँकी मनाको उमेर पनि भर्खर २० वर्ष भयो । उहाँले पनि कक्षा ८ मा पढ्दा पढ्दै विवाह गर्नुभयो।

अहिले दुुई छोरी छन्। जेठी छोरी नीता पाँच वर्ष पुगिसकिन्। क्युडीवासीका लागि गाउँमा आधारभूत तह पढाइ हुने कुलमष्टा विद्यालय छ । गाउँमा भएको आधारभूत तहको विद्यालयमा ८ कक्षासम्म पढ्छन्। विद्यालय टाढा भएकाले त्यसपछि अधिकांश किशोरकिशोरीले विवाह गर्छन् ।

मनाले गाउँमा रहेको कुलमष्टा आधारभूत विद्यालयमा ८ कक्षासम्म पढ्नुभयो । त्यसमाथिको कक्षा पढ्नका लागि नजिक गाउँमा माध्यमिक तह अध्ययन हुने विद्यालय छैन। ‘एकातिर आर्थिक अवस्था कमजोर भयो अर्काेतिर छोरीहरूलाई धेरै पढाउनुपर्ने मान्यता छैन’, मनाले भन्नुभयो– ‘छोरीलाई बाहिर पठाएर पढाउने त कल्पना नै भएन। एक्लै कोठा लिएर बस्यो भने नानाथरी कुरा काट्छन्।’

क्युडीका विद्यार्थीले माध्यमिक शिक्षा आर्जन गर्न रुगिनमा रहेको बागेश्वरी मावि जानुुपर्ने अवस्था छ। क्युडीदेखि रुगिन पुुग्न चार घण्टा लाग्छ । डेरा नगरी त पढ्न पाउने सम्भावना नै छैन।

शिवकली र मनाको मात्र नभएर सुन्दरीको पनि समस्या उस्तै छ । दुुई वर्षकी छोरीकी आमासमेत रहेकी सुन्दरी २१ वर्ष हुनुभयो। उहाँले चार वर्षपहिले नै विवाह गरिसक्नुुभयो । केटी मात्रै होइन, यस गाउँका केटाहरूले पनि उमेर नपुुग्दै विवाह गर्छन्। ‘हाम्रो गाउँमा पढाइलेखाइ गरेका शिक्षित धेरै छैनन् । स्थायी जागिरे एक जना पनि छैनन् । दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँछन्,’ उहाँले भन्नुभयो– ‘हामीहरूको ३ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न उब्जनी हुँदैन । गाउँमा रहेका बूढापाका, महिलाहरूले जडीबुटी तथा भेडा, बाख्रा बेचेर खाद्यान्नको जोहो गर्ने र युवा पुस्ता भने भारतमा चौकीदारी गरेर घरधन्दा चलाउँछन् ।’

क्युडी गाउँमा कम्तीमा एक परिवारमा ८ देखि १४ जनासम्मको संगोल बस्ने प्रचलन छ । ‘मेरो घरमा पनि १४ जनाको परिवार छ, परिवार ठूलो छ आयस्रोत केही छैन, बिहानबेलुका छाक टार्न पनि मुस्किल हुन्छ’ –स्थानीय मनलाल बुढाले भन्नुभयो । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ । कानुनी व्यवस्थाको उल्लंघन गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिक रूपमा परिपक्क नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध स्वास्थ्य समस्या आउन सक्ने जोखिम हुुन्छ । तर, क्युडी गाउँका बासिन्दाका लागि विवाहको उमेर २० वर्ष हुने कुरा कानुनमै सीमित छ ।

१ सय १५ घरधुरी रहेको यस गाउँमा शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएको, आर्थिक, सामाजिक रूपमा पछि परेकाले प्रायः परिवारमा बालविवाहको विकराल अवस्था देखिन्छ। प्रायःजसो सामान्य लेखपढ अर्थात् ८/९ कक्षा पढेपछि १४/१५ वर्षको उमेरमा क्युडीका किशोर/किशोरी विवाह बन्धनमा बाँधिन्छन्।

विवाह गरेपछि दुवैको पढाइ छुट्छ। २० वर्ष पुगेकी मनाका श्रीमान् वीरेन्द्रले कृषि कर्म गर्दै आउनुभएको छ तर उक्त कर्मले वर्षभरि खान पुग्दैन। १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएपछि उहाँजस्तै दर्जनौं जोडीले पढाइ बिचैमा छोड्नुपर्‍योे ।

कृषि पेसामा रहेका सुन्दरीका श्रीमान् रमेशले पनि ९ जनाको परिवारलाई स्याहार्दै पढलेख गर्न पाउनुभएन। आर्थिक अवस्था कमजोर भएका उहाँले विवाहपछि कृषिकर्म गरी घरधन्दा चलाइरहनुभएको छ।

कम उमेरमा विवाह गरेका उहाँले भन्नुभयो– ‘नोकरी खोजुुँ भने त्यति धेरै पढेलेखेको छैन्। यहीँ कुटो, कोदालो गरेर घरधन्दा चलाइरहेको छु।’

साहुको ऋण काढेर उमेर नपुग्दै बिहे गर्ने बिहेपछि ऋण तिर्न आफू भारत छिर्ने । उमेर छिप्पिँदै गएपछि उतै हराउने यता परिवारको हरिबिजोग हुने घटना पनि बाजुरेली समुदायका लागि नौला हैनन्।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button