
काठमाडौँ, भदौ १ गते । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण फैलिँदै गएको छ । स्वास्थ्यसेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोपसेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ मा हालसम्म ५८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।
महाशाखाको तथ्याङ्क अनुसार देशभर ८७३ जना एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम (एइएस) का बिरामी रिपोर्ट भएका छन् । तीमध्ये ५८ जनामा प्रयोगशाला परीक्षणबाट जेई सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका ५८ जना २१ जिल्लाका ४३ स्थानीय तहका हुन् । खोप शाखाको तथ्याङ्क अनुसार सङ्क्रमण सात वटै प्रदेशमा देखिएको छ । प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै २१ जना सङ्क्रमित भएका छन् ।
कोशीमा जेई सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार मधेश प्रदेशमा १४ जना सङ्क्रमित हुनुका साथै पाँच जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा १० जना सङ्क्रमित भई एक जनाको मृत्यु भएको छ । गण्डकीमा तीन जना सङ्क्रमित भए पनि मृत्यु भएको छैन ।
लुम्बिनीमा सात सङ्क्रमित तथा एक जनाको मृत्यु भएको छ । कर्णालीमा एक तथा सुदूरपश्चिममा दुई जना सङ्क्रमित पुष्टि भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी जेई सङ्क्रमण तराई क्षेत्रमा रहेको छ । प्रयोगशाला परीक्षणबाट पुष्टि भएका कुल सङ्क्रमितमध्ये ८७ प्रतिशत तराईका जिल्लाका रहेका छन् ।
वृद्धवृद्धा बढी सङ्क्रमित
सङ्क्रमितको उमेरगत विवरणले पनि जेईको जोखिम बालबालिकामा मात्रै सीमित नभई वृद्धवृद्धामा बढी देखिएको छ । कुल सङ्क्रमितमध्ये ३८ जना अर्थात् ६६ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । त्यस्तै जेई सङ्क्रमणबाट मृत्यु भएका १६ जनामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेका छन् ।
मृतकमध्ये नौ जना पुरुष र सात जना महिला छन् । १६ जनाको मृत्यु १० जिल्लामा भएको छ । प्रतिवेदन अनुसार झापामा पाँच, सुनसरीमा दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक/एक जनाको मृत्यु भएको छ । खोप शाखा प्रमुख डा. गौतमले प्रयोगशाला पुष्टि भएका ५८ सङ्क्रमितमध्ये ९० प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ । सङ्क्रमणका कारण मृत्यु भएका सबै १६ जना खोप नलगाएका व्यक्ति हुन् ।
खोप शाखा प्रमुख डा. अभियान गौतमले जेईबाट हुने सङ्क्रमण र मृत्युलाई रोक्न खोपको पहुँच र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँका अनुसार उपलब्ध तथ्याङ्कले खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युको जोखिम देखाएकाले खोपबाट छुटेका व्यक्तिलाई खोपको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनुभयो । जेईको सङ्क्रमण कृषि तथा वातावरणीय अवस्थासँग समेत जोडिएको छ ।
स्थलगत टोली परिचालन
झापा, सुनसरी र बारामा जेई सङ्क्रमणको अवस्थाबारे स्थलगत टोली परिचालन गरिएको छ । स्थलगत अध्ययनमा स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति, भेक्टरजन्य रोग अनुसन्धान अधिकृत तथा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि र खोपसम्बन्धी चिकित्सक सहभागी छन् । टोलीले जेईको पछिल्लो अवस्था, वातावरणीय जोखिम, समुदायको अवस्था तथा स्वास्थ्य संस्थाको अवस्थाबारे अध्ययन गरिरहेको छ । महाशाखाले नियमित खोप कार्यक्रममार्फत १२ महिनाको उमेरमा जेईविरुद्धको एक मात्रा खोप दिने व्यवस्था गरेको छ । नियमित खोप छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म जेईविरुद्धको खोप दिन सकिने व्यवस्था रहेको छ ।
गोरखापत्र अनलाइन



