मूल खबरहेड लाइन

देशभर मौसमी विपत् : अवरुद्ध राजमार्ग, जोखिमपूर्ण यात्रा

तस्बिर : वासुदेव शर्मा भेरी नगरपालिका–२ मा गएको पहिरोमा परेकाको उद्धार गरिँदै ।

काठमाडौँ, भदौ १ गते । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र सङ्खुवासभाका सडक प्रभावित भएका छन् । भोजपुर–५, बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । इलाम–९, राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक सडकबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सङ्खुवासभाको भोटखोला–३, सिर्खेकडाँडामा बाढीका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा बन्द छ । काभ्रेपलाञ्चोकको बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी बेलुका ६ देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ देखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

मकवानपुरको हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जोड्ने सडकमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी–२, कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सडक प्रभावित भएका छन् । बागलुङको जैमिनी–८, बेलबगरमा कालीगण्डकी कोरिडोर तथा तल्लो बाँद्रेमा बागलुङ–बेनी सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । लमजुङको मस्र्याङ्दी–४, रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । मुस्ताङको थासाङ–४, कैकुखोलामा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण–३, रुप्सेमा सोही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । कर्णाली प्रदेशमा रुकुमपश्चिमको आठबिसकोट–६, रिगेगाडखोलामा बाढी आएपछि भेरी कोरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सडकखण्डमा पहिरो र बाढीले यातायात प्रभावित हुँदै आएको छ ।

चौबिस घण्टामा छयालिस घटना

यसैबिच राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा बाढी, पहिरो, आगलागी, सर्पदंश र लेक लाग्नेलगायतका ४६ वटा विपत्का घटना भएका छन् । ती घटनामा दुई जनाको मृत्यु, तीन जना बेपत्ता र २३ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टाका विपत् व्यवस्थापन कार्यमा कुल २१० जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम बढ्ने भएकाले प्रहरी तथा प्राधिकरणले जोखिमयुक्त सडकमा यात्रा नगर्न, लामो यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेको सूचना पालना गर्न आग्रह गरेका छन् । सडक खुल्ने र पुनः अवरुद्ध हुने व्रmम चलिरहेकाले यात्रुलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

भौगर्भिक अध्ययन टोली खटाइने

सरकारले पहिरो प्रभावित जिल्लामा थप भौगर्भिक जोखिम र विपत्को सम्भावना पहिचान गर्न द्रुत अध्ययन तथा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ । यस कार्यले जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थान खोजी गर्न मद्दत गर्ने विश्वास गरिएको छ । सिंहदरबारस्थि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आइतबार बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले सो निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख एवं पोस्टका अध्यक्ष डा. धर्मराज उप्रेतीको अध्यक्षतामा प्राधिकरणमा बसेको बैठकले पहिरो प्रभावित रोल्पाको थवाङ गाउँपालिका, सुनछहारी गाउँपालिका, बाजुराको

त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिका वडा नं. २ र आसपासका क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकाय सम्मिलित अध्ययन टोली तीन दिनभित्र फिल्डमा खटाउने निर्णय गरेको हो । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागबाट समेत सहभागिता जनाउने बताइएको छ । पछिल्लो पटक रोल्पा, जाजरकोट र बझाङलगायतका जिल्लामा पहिरोमा परी जनधनको ठुलो क्षति भएको सन्दर्भमा ती जिल्लाका सम्बन्धित स्थानीय तहमा खोज, उद्धार तथा राहत व्यवस्थापनसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन एवं विपत्पीडित घरपरिवारलाई दिइने राहत तथा अनुदान प्रभावकारी बनाउने निर्णय बैठकले गरेको हो । बैठकले प्रभावित घरपरिवारलाई तत्काल राहत (नगद सहायता वा वस्तुगत सहायता, मृतक राहत, घाइतेको निःशुल्क उपचारलगायत) उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी र जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति एवं सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय छ । बैठकले हाल मनसुन सव्रिmय रहेको सन्दर्भमा प्राकृतिक प्रकोपको जोखिम रहेको हुँदा मनसुन अवधिभर थप सतर्कता अपनाउन सम्पूर्णमा अनुरोध पनि गरेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button