कृषि र किसानहेड लाइन

तराईमा स्याउ फलाउन छैन वैज्ञानिक आधार

कैलालीको लम्कीचुहा–९, प्रतापपुरस्थित गोकर्ण ओलीको बारीमा लटरम्म फलेको स्याउ ।

सुरेशकुमार यादव

काठमाडौँ। कैलाली लम्कीचुहाका किसानले एक करोडभन्दा बढीको लगानीमा आफ्नै बारीमा स्याउ फलाएपछि त्यो अहिले चर्चाको विषय बनेको छ । चिसो ठाउँ अर्थात् हाई चिलिङ भएको ठाउँमा उत्पादन हुने स्याउ उच्च गर्मी हुने ठाउँमा पनि उत्पादन भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ ।

कृषि वैज्ञानिकहरू भन्छन्, “यो सम्भव छैन, यो वैज्ञानिक हिसाबले उपयुक्त छैन, यसको वैज्ञानिक आधार छैन ।” स्याउ विषयमा पिएचडी गर्नुभएका तथा कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समय स्याउ क्षेत्रमा काम गर्नुभएका डा. गिरीधारी सुवेदीले तराईमा स्याउ फल्न सक्छ तर त्यो उपभोक्ताका लागि गुणस्तर हुन सक्दैन, करेसाबारीका लागि ठिक छ तर व्यावसायिक खेतीका लागि नमिल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “तराईमा करेसाबारीसम्ममा सौखका लागि स्याउ लगाउन सकिन्छ तर व्यावसायिक खेती गर्न मिल्दैन ।” तराईमा अहिले चर्चामा रहेको जस्तो जातको स्याउको बिरुवा सरकारले इजरायलबाट ल्याएर नेपाली किसानलाई वितरण गरिएको थियो तर त्यसलाई न किसानले रुचाए न उपभोक्ताले त्यसपछि त्यो बिरुवा बिक्री वितरण नै बन्द भएको थियो ।

भारतको हिमाञ्चल प्रदेशका एक व्यक्तिले स्याउ खाएर त्यसको बिउ आँगनमा फ्यालेका थिए । त्यो उम्रेर फल्यो पनि । पछि त्यसमा अध्ययन अनुसन्धान पनि भयो । भारत सरकारले पनि त्यसको खोजखबर गर्‍यो । त्यो बोटमा राम्रो स्याउ फले पनि गुणस्तर नभएपछि त्यो अगाडि बढेन तैपनि त्यहाँका कतिपय किसानले उत्पादन गर्दै आएका छन् तर उपभोक्ताले त्यति रुचाएका छैनन् । अरू स्याउसँग प्रतिस्पर्धा गर्न सकेको छैन ।

त्यही एचआरएमन–९९ जातको बोट अहिले तराई मधेशमा आएको वैज्ञानिक सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “तराईमा अहिले यस्तो गर्मी छ, त्यहाँ गुणस्तरीय स्याउ उत्पादन हुन सक्दैन यो वैज्ञानिकहरू गरेको अध्ययनले पुष्टि गरेका हुन् । स्याउका लागि जति चिसो भयो त्यति नै राम्रो हुन्छ ।” गर्मी ठाउँमा उत्पादन हुने स्याउलाई लामो समय भण्डारण गरेर राख्न सक्दैन । बोट, फूल तथा फलमा किराको प्रकोप हुन्छ । बोट टिकाउन गाह्रो हुन्छ ।

यद्यपि वैज्ञानिक सुवेदीले तराई मधेशमा फल्न र फूल्न लागेको स्याउका बारेमा अध्ययन अनुसन्धान हुन आवश्यक रहेको बताउँदै उहाँले कसैले व्यावसायिक रूपमा स्याउ खेती गर्नुभन्दा पहिले त्यसको विस्तृत अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिनुभएको छ ।

स्याउको व्यावसायिक खेतीका लागि एक हजारदेखि एक हजार पाँच सय घण्टा ७० सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने गरेको नार्क अन्तर्गतको राष्ट्रिय वातावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वैज्ञानिक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । नेपालमा समुद्र सतहदेखि दुई हजारदेखि तीन हजार मिटर उचाइ मात्र स्याउ खेती गर्न सकिन्छ त्योभन्दा तल कसैले गरिरहेको छ भने त्यो वैज्ञानिक नभएको बताउनुभयो ।

“स्याउको बोटको सक्रिय वृद्धि विकास हुन २१० देखि २४० सेल्सियस औसत तापक्रमको आवश्यकता पर्दछ जुन मधेशमा सम्भव नै छैन,” उहाँले भन्नुभयो, “फलमा रङ आउनका लागि एन्थोसायनिन नामक रसायन बन्नुपर्ने हुन्छ जसका लागि घामको आवश्यकता पर्छ तर तराईको जस्तो घामले हुँदैन ।”

तराईमा फलेको स्याउमा रङ आउँदैन, हरियो नै हुन्छ, खाँदा अमिलो हुने भएकाले उपभोक्ताले रुचाउँदैनन् र व्यावसायिक रूपमा उपयुक्त नभएको हुनाले ठुलो लगानीमा खेती नगर्न उहाँले पनि सुझाव दिनुभयो । स्याउको गुणस्तरीय फल उत्पादनका लागि वार्षिक दुई सयदेखि २५० मिलिमिटर वर्षाको आवश्यकता पर्दछ । जुन चैत्रदेखि भदौसम्म बराबर हिसाबले परेको हुनु पर्दछ । स्याउको फलको वृद्धि विकासको समयमा माटो सुक्खा हुन हुँदैन भनि अनुसन्धानले देखाएको उहाँले बताउनुभयो ।

अहिलेको वातावरण प्रभावका कारण तराईमा स्याउ फलेको होइन, कृषिमा वातावरणको प्रभाव तलबाट माथि जान सक्छ तर माथिबाट तल जान सक्दैन भन्दै उहाँले तराई फलिरहेको आँप, लिची, केरा पहाड तथा हिमालमा फल्न सक्छ तर हिमालमा फल्ने स्याउ, सुन्तलालगायत फल तराईमा गुणस्तरीय फल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाई चिलिङमा फलेको स्याउका लागि सोलार रेडिएसन चाहिन्छ अनि मात्र त्यो गुणस्तर हुन्छ जुन कुरा अहिलेको अवस्थामा तराईमा सम्भव छैन ।”गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button