
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई नियुक्त गरेका थिए। शपथपछि सुधन गुरुङले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।
सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङले गत वैशाख ८ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष निकाल्दै क्लिनचिट दिएको थियो। सोही आधारमा प्रधानमन्त्री शाहले उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन्।



