मूल खबर

मगर बस्तीमा भुमेको रमझम

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१०, बाच्छीगाउँका स्थानीय साँझ भुमे नाचको अभ्यास गर्दै । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व । मगर समुदायको बलपूजा अर्थात् भुमे पर्वको रमझम सुरु भएको छ । पूजाआजासहित विधिवत् रूपले जेठ मसान्तबाट भुमे पर्वको सुरुवात हुन्छ । तथापि जेठ महिना लागेसँगै यहाँका मगर समुदायले हरेक साँझ चौतारामा भुमे नाचको अभ्यास गर्ने गर्छन् । मगर समुदायको बाहुल्य रहेका गाउँका चौतारामा जम्मा भएर भुमे नाचको अभ्यासको रमझम भइरहेको छ ।

महिला पुरुषको छुट्टाछुट्टै समूह बनाई गोलो घेरा बनाएर भुमे नाच्ने गरिन्छ । बाहिरी घेरामा महिला समूह र भित्री घेरामा पुरुष समूह रहन्छन् । गोलो घेरा बनाएर दमाहाको बाजामा विभिन्न २२ प्रकारका नाच नाच्ने गरिन्छ । बाजा बजाउने समूह छुट्टै हुन्छन् । नाच्ने महिला पुरुष मौलिक पोसाकमा सजिएर गोलो घेरामा लहरै गरी नाच्ने रम्ने गर्छन् ।

भुमे गाउँपालिका–१, लुगुमका रामबहादुर पुनमगरका अनुसार जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म नाचगान गरी धुमधामसँग भुमे मनाउने गरिएको छ । जेठ लागेसँगै भुमे नाचको अभ्यास सुरु गरिए पनि यसको विधिवत् सुरु जेठ मसान्तका दिन गर्ने गरिएको छ ।

जिल्लाका प्रायः चौतारा, चोकमा अहिले भुमे नाच्ने र हेर्ने मानिसको भिड बढ्दै गएको छ । भुमे नाच्ने, बजाउने, गाउने तथा रम्नेले गाउँघरका चोक, चौतारा रमझम भइरहेको छ । लेक र बेँसी अर्थात् भूमि पुज्ने पर्व बलपूजा अर्थात् भुमे नाच हो । भुमे गाउँपालिका–७, धर्मशालाका चन्द्रबहादुर बुढामगरका अनुसार बर्सातको समयमा लेकबाट बाढीपहिरो नझरोस्, बेँसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रियोस् भन्ने कामनासहित बलपूजा गरी भुमे नाचगानसाथ भुमे पर्व मनाउने गरिएको छ । त्यसका लागि लेक र गाउँका देवतालाई पुजिन्छ । जेठ मसान्तका दिन लेकका देवतालाई पुज्ने र लेकका रङ्गीबिरङ्गी फूल देवताको सगुनका रूपमा टिपी ल्याएर गाउँका मान्छेलाई दिने गरिन्छ । जेठ मसान्तका दिन दिउँसो लेक देवतालाई पुजी सोही दिन दिउँसो गाउँमा आई भेडा तथा सुँगुरको बलि दिई विधिवत् रूपमा भुमे नाचको सुरु गर्ने गरिएको छ । भुमे नाचको अन्तिम दिन नाच्ने हाट दान सङ्कलन गरिन्छ र उक्त रकम बलपूजा अर्थात् भुमे नाचको व्यवस्थापन र गाउँको कोषमा जम्मा गर्ने गरिएको छ ।

पञ्चैबाजाको तालमा भुमे नाच्ने गरिन्छ । जसमा बाजा बजाउने समूह नाच्नेको गोलो घेराभित्र बिच भागमा रहन्छन् । नाच्ने क्रममा विभिन्न फरक फरक २२ चाला नाच्ने गरिएको भुमे गाउँपालिका–२, काँक्रीका स्थानीय कला संस्कृति जानकार मदन रोकामगरले जानकारी दिनुभयो । नाच्ने क्रममा बाजाकै तालमा सुरु र अन्तिम दिनमा भूमि देवतालाई मनाउने तथा सम्मान गर्ने शब्दमा महिला पुरुषकै सामूहिक भाकामै बाजाकै तालमा गीत गाउने गरिन्छ । यसै गरी भूमि देवताको मान राखिसकेपछि लेक र बेँसीमा फुल्ने सम्पूर्ण फूलको नाम लिई गीत गाउँदै नाच्ने गर्ने गरिएको रोकामगरको भनाइ छ । त्यसलगत्तै बिचका दिनमा मायाप्रीति, दैनिकी कामकाजको अवस्थाबारे गीतमार्फत दुःखसुखका भाका गाउँदै भुमे नाच नाच्ने गरिएको रोकामगरले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button