मूल खबर

धार्मिक सद्भावको नमुना : सँगसँगै महन्त र मौलाना

महन्त योगी र मौलाना मन्जरी ।

सिराज खान

सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूभिकामा हुनुहुन्छ– हिन्दु धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी
योगी र मन्जरीको दोस्ती, सम्बन्ध अति घनिष्ठ मात्र होइन निकै आत्मीय र प्रेमपूर्ण
नेपालगन्ज, साउन १८ गते । पश्चिम नेपालको आर्थिक र राजनीतिक केन्द्र मानिने नेपालगन्ज देशैभरि सद्भाव र एकताको सहरका रूपमा परिचित छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगन्जलाई सबैले सद्भावको सहरका रूपमा चिन्छन् र मान्छन् ।

मधेशी, मुस्लिम र पहाडी बसोबास गर्ने यो सहर त्यसै सद्भावको सहर बनेको होइन । यसलाई यो उपाधि दिलाउन राज्यको सुरक्षा निकाय, विभिन्न धर्म सम्प्रदायका स्थानीयसहित यहाँका धर्मगुरुको मुख्य भूमिका रहेको छ । यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ– हिन्दु धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी । योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ वागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मन्जरी मुस्लिम समुदायका मुख्य धर्मगुरु हुनुहुन्छ ।

योगी र मन्जरीको दोस्ती, सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ । दुवै जना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानु हुन्छ भने एउटै मोटरसाइकलमा बसेर सहरका विभिन्न ठाउँ पुग्नुहुन्छ । उहाँहरूबिच हरेक दिन कम्तीमा एक पटक भेट हुने गरेको छ, भेट नभएमा मोबाइलबाट भलाकुसारी हुने गरेको छ । एक जना बिरामी पर्दा अर्कोले हालखबर बुझ्न घर पुग्नुहुन्छ । एउटाको घरमा केही कार्यक्रम भयो भने अर्को अनिवार्य भेटिनुहुन्छ ।

पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले दुवैको मन निकै दुःखी र चिन्तित बनायो । त्यसको प्रभाव यो सद्भावको सहरमा पनि पर्ने हो कि भन्ने चिन्ताले दुवैलाई गम्भीर बनाएको वागेश्वरी मन्दिरका मूल महन्त योगीले बताउनुभयो । उहाँले सोही कारणले धार्मिक सद्भाव ¥यालीमा आफू गएको र बढीभन्दा बढीलाई सहभागी गराएको पनि बताउनुभयो । खुट्टाको समस्याले यस पटकको सद्भाव ¥यालीमा पुग्न नसके पनि घरबाटै फोन गरेर शान्ति र सद्भावका लागि सबैसँग अपिल र समन्वय गर्ने कार्य निरन्तर गरिरहेको मुस्लिम धर्मगुरु मन्जरीले बताउनुभयो ।

हुन त कतिपयलाई महन्त र मौलानाको दोस्ती तथा सम्बन्ध मन परेको छैन तर त्यसलाई बेवास्ता गर्दै महन्त योगी भन्नुहुन्छ, “हामी सँगसँगै हुँदा न त म मुस्लिम भएको छु, न त मेरो हिन्दु धर्मप्रतिको आस्था कमजोरै भएको छ । न त मौलाना हिन्दु हुनुभएको छ न उहाँको पनि आस्था कमजोर भएको छ । बरु हामी दुवैले धर्मको असली सन्देश मानवताको रक्षा बुझेर अगाडि बढिरहेका छौँ ।”

२०६३ सालमा यहाँ तनाव फैलाउन खोजिँदा सद्भावका लागि महन्त र मौलाना सँगै उभिनुभएको थियो । सोही समयमा उहाँहरूले अन्य धर्मका गुरुलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जालै गठन गरेर सद्भाव र एकताका लागि सङ्गठित रूपमा कार्य सुरु गर्नुभएको थियो । त्यसयता सो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ । बर्सौंदेखि आपसमा मिलेर बसेको समुदायमा फाटो ल्याएर स्वार्थको रोटी सेक्नेसँग सचेत हुँदै आपसमा मिलेर बस्न उक्त सञ्जालले स्थानीयलाई सचेत र शिक्षित गराउँदै आएको छ । नेपालगन्जमा हुने कुनै पनि चाडपर्व, धार्मिक सभा

समारोह अगाडि स्थानीय प्रशासनले सम्बन्धित सरोकारवालासँगै महन्त योगी र मौलाना मन्जरीलाई बोलाएर शान्ति र सद्भावका लागि सहयोग गर्न आग्रह गर्छ । उसो त नेपालगन्जको सद्भाव बिगार्न बेलाबेलामा दुष्प्रयास पनि नभएका होइनन् तर यहाँका अधिकांश अगुवा र धर्मगुरुको सकारात्मक भूमिकाका कारण त्यस्ता दुष्प्रयास असफल हुँदै आएका छन् ।

यस पटक पूर्वी क्षेत्रको हावालाई यता पुग्न नदिन महन्त र मौलानालगायत अन्य धेरैले सकारात्मक कार्य गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँले शान्ति भङ्ग गर्ने सद्भाव बिगार्ने र अनावश्यक भ्रम फैलाउनेमाथि कडा निगरानी भइरहेको जनाउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button