कृषि र किसान

बाली बिमामा कृषक शून्य

सिन्धुलीमाढी। एक दशकपहिले नै सरकारले किसानको लगानी सुरक्षित गर्न भन्दै ल्याएको बाली बिमा कार्यक्रम जनचेतनाको अभावमा प्रभावकारी हुन सकेको छैन । २०६९ माघ एकदेखि सुरु भएको यो कार्यक्रममा सिन्धुलीमा कुनै पनि कृषक आबद्ध नभएको पाइएको छ । व्यावसायिक कृषकले समेत बाली बिमा कार्यक्रमबारे जानकारी नपाउँदा कार्यक्रमकै उपादेयतामा प्रश्न उठेको छ ।

गोलन्जोर गाउँपालिका–४ निवासी जुनार किसान लोकबहादुर आलेमगर आफूले २०६० सालदेखि नै व्यावसायिक रूपमा जुनार खेती गर्दै आएको भए पनि बाली बिमाबारेका कुनै जानकारी नभएको बताउनुहुन्छ । “मैले २२ रोपनी जमिनमा जुनार खेती गरेको छुँ तर बाली बिमा कार्यक्रम पनि छ भनेर पहिलो पटक सुन्दै छु । बिमा गर्ने त कुरा त परै भयो,” उहाँले भन्नुभयो । हावाहुरी, असिना, बाढीपहिरोलगायतका कारणले किसानले लगाएका बालीको जोखिम र क्षति न्यूनीकरण गर्न उक्त कार्यक्रम आएको भए पनि अधिकांश किसान बाली बिमा कार्यक्रमप्रति अनभिज्ञ छन् ।

जिल्लामा झन्डै ९० प्रतिशत किसान कृषि पेसामा आश्रित भई गुजारा चलाइरहेको जनाइएको छ । उनीहरूले परम्परागत तथा व्यावसायिक रूपमा धान, मकै कोदोलगायतको अन्नबाली, जुनार, सुन्तलालगायतका फलफूल, तरकारी र दलहन खेती गर्दै आएका छन् । कमलामाई नगरपालिका–४, मल्लागाउँ निवासी किसान पवित्रा भुजेल बाली बिमा गर्न कहाँ जानुपर्ने र के गर्नुपर्ने हो ? केही थाहा नभएको बताउनुहुन्छ । “बाली बिमा गर्दा के सुविधा पाइन्छ, त्यो पनि थाहा छैन,” उहाँले भन्नुभयो, “फल्छ, बिग्रिन्छ । के भयो, कसो भयो भन्छौँ । जति फल्छ त्यतिमा नै सन्तोष गर्छौं  ।”

किसानले लगाएको बाली बाढीपहिरो, असिना, हावाहुरीलगायतका कारणले क्षति भएमा बिमाङ्क रकमको ८० प्रतिशत सरकारले क्षतिपूर्ति दिने व्यवस्था रहेकाले किसानका लागि बाली बिमा कार्यक्रम राम्रो रहेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख अरुण खनालले किसानको लगानी २० प्रतिशत मात्रै लाग्ने हुँदा पनि बाली बिमा हुन नसकिरहेको बताउनुभयो । “तर त्योसम्बन्धी हामीलाई गुनासो पनि आएको छैन,” उहाँले भन्नुभयो । जिल्लामा कुल खेतीयोग्य जमिन ६९ हजार २५३ हेक्टर जमिन रहेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button