कृषि र किसानहेड लाइन

खेतीबालीसँग लोकगीतको साइनो

केशब राज पौडेल
‘आज र मैले भातै र खायो तिउन त गाभाको

के माया गर्थ्यौ तिमीले साइँली म जस्तो जाबाको…’

– झलकमान गन्धर्व

नेपाली मौलिक लोकसङ्गीतमा बालीनाली, खेती किसानी, जीवनशैली र परिकारमा पाइने स्वादभन्दा पनि मिठासयुक्त प्रस्तुति पाइन्छ । लोकगीतमा रैथाने बालीलाई सामाजिक रूपान्तरण र आर्थिक जागरणको प्रतीककै रूपमा प्रयोग गरिएको छ किनभने बालीको विकास पनि मानव सभ्यतासँगै जोडिएर आएको हो ।

परम्परागत रूपमा ठाउँ विशेषमा खेती हुने गरेका रैथाने बालीसँग नेपाली गीतसङ्गीतको महत्व र साइनो पुरानो छ । वरिष्ठ बागवानी विकास अधिकृत दीपक पौडेलले भन्नुभयो, “रैथाने बाली र नेपाली लोकगीत एकअर्काका परिपूरक हुन् । यसको मौलिक पक्ष र विशेषता पृथक् छ ।” स्थानीय वातावरणमा हुर्कने, बढ्ने र रोग तथा किरासँग लड्न सक्ने पौष्टिक पक्षबाट महत्वपूर्ण मानिने रैथाने बालीसँग लोकगीतले निकै ठुलो महत्व राख्ने उहाँले बताउनुभयो ।

धेरै बाली लोप भएका र लोप हुन सक्ने विषयलाई दृष्टिगत गरेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को जिन बैङ्कमा बिउ सुरक्षित राखिएको छ । त्यस्तै लोकगीतले रैथाने बालीलाई माटोमा मात्रै नभएर गीतका माध्यमबाट समेटेर संरक्षण गरिएको छ ।

लोकगायक मच्छेश्वर सापकोटा परम्परागत रूपमा ठाउँ विशेषमा खेती हुने रैथाने बाली नेपाली लोकगीतको अभिन्न अङ्ग भएको बताउनुहुन्छ ।

स्वर मास्टर मित्रसेन थापा लोकगीतमार्फत भन्नुहुन्छ,

धर्तीमुनि पिँडालु त धर्तीमाथि गाभा

तिमीसँग प्रीति लाउनु कानै पक्डेँ बाबा

मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका डा. कालिकाप्रसाद उपाध्यायले लोकगीतमा कृषि प्रविधिका बारेमा गहन अध्ययन गर्नुभएको छ । उहाँको पुस्तकमा मास्टर थापाको गीतमा बिरुवाको विभिन्न भागको उपयोगिताको गीतमार्फत वर्णन गरिएको उल्लेख गरिएको छ । पिँडालुको पात हाँगा, जरालाई फरक फरक रूपमा प्रयोग गर्न सक्ने प्राविधिक ज्ञान गीतमार्फत प्रस्तुत गर्ने गरेको पुस्तकमा उल्लेख गर्नुभएको छ । हाम्रा गीतले भावनात्मक कुरा मात्रै नगरेर प्राविधिक कुरालाई पनि ध्यानमा राखेका छन् । धान लगाउने, कोदो फापर छर्ने समयका बारेमा समेत ज्ञान दिएको पुस्तकमा उल्लेख गरिएको छ ।

लोकगीत, गाथा, ऋतु गीत, संस्कार गीत, बाह्रमासा गीत, पर्व गीत, कर्म गीत, श्रम गीत हुन्छन् । श्रम गीत अन्तर्गतको एउटा गीत हो–रोपाइँ गर्दा गाइने असारे गीत । जसको महत्व निकै ठुलो छ । त्यसको उदाहरण हो,

रिमीमा झिमी पानी है पर्‍यो असारे मासैमा

हिँडेको हामी धान है रोप्न बेँसीको फाँटैमा ।

लोकगायक रामहरि न्यौपानेले लोकगीतमा प्रचुर मात्रामा मानवीय संवेदनशीलता हुने र जुन व्यक्तिको चेतना, कल्पनाशीलता, भावप्रवणता, समूहमा मिश्रण भएर समूहको साझा वाणी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “किसानी काममा अधिक शारीरिक श्रम गर्नु पर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ, आँत खङ्ग्रङ्ग भएर तिर्खा लाग्ने थकान मेटाएर शरीरमा चुस्तिफुर्ती भरेर पुनर्ताजगी ल्याउनलाई किसानले रामदली, गोडेलो, दाइँगीत, असारे आदि श्रमगीत रचेका हुन् ।”

गीतले कुन समयमा रोप्ने, गोड्ने, मल हाल्ने सबै कुरा सिकाउँछ । कृषि प्रचार अधिकृत कृष्ण धितालले नेपाली गीतले कृषिलाई प्रमुख कर्मका रूपमा सिकाउन मद्दत गरेको दाबी गर्नुभयो । उहाँले नेपालमा मनाइने चाडपर्व पनि कृषि प्रणालीमै आधारित रहेकाले गीतले कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गराउन सहयोग गरेको स्पष्ट पार्नुभयो । उहाँले लोकगीतले कृषिबाट नै आत्मनिर्भर बन्न प्रेरणा दिने बताउनुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button