खेलकुद

आइसिसी विश्वकप लिग २

दीपेन्द्र र करणको प्रेरणादायी प्रदर्शनमा नेपालको जित

प्रजित शाक्य
काठमाडौँ, वैशाख १३ गते । आइसिसी विश्वकप लिग २ मा पुछारका दुई टिमबिचको भिडन्तमा नेपालले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले हराएको छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र करण केसीको प्रेरणादायी बलिङको प्रमुख भूमिका रह्यो । नेपालले जितपछि १४ अङ्क बनाएको छ । लिग २ मा नेपालले चार हारपछि जित निकालेको हो । नेपालको २१ खेलमा यो मात्र छैटौँ जित हो । यसै गरी नेपालले १३ हार बेहोरेको छ भने दुई खेल अनिर्णीत बनेको थियो । आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल सातौँ स्थानमा यथावत् छ ।

अङ्क तालिकाको अन्तिम स्थानमा रहेको युएईले २१ खेलबाट मात्र १० अङ्क बनाएको छ । युएईको यो १६ औँ हार हो । यस लिगमा अमेरिका २४ खेलबाट ३६ अङ्कसहित अग्रस्थानमा रहेको छ । त्यसपछि स्कटल्यान्ड (३४ अङ्क) र ओमान (२९ अङ्क) रहेका छन् । चालु त्रिदेशीय शृङ्खलामा ओमान पनि रहेका छन् । ओमानले सोमाबार युएई तथा बुधबार नेपालसँग खेल्ने छ । यस प्रतियोगिताको शीर्ष चार टिमले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने छ । पुछारका चार टिमले प्लेअफ क्वालिफायर खेल्नुपर्ने प्रावधान रहेको छ । नेपालका कप्तान रोहित पौडेलले लिग २ मा घरेलु मैदानमा खेल्न बाँकी आठमध्ये धेरै खेल जित्न प्रयास गर्ने बताउनुभयो । घरेलु मैदानमा धेरैभन्दा धेरै खेल जित्न सकेमा हामीलाई अङ्क तालिका फाइदा गर्छ– उहाँले भन्नुभयो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पाहुना टिम युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभयो । नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भएपछि कप्तान वासिमको निर्णय सही देखिएको थियो तर करणको प्रेरणामा रहेको नेपालको बलिङ आक्रमणले जवाफमा युएईलाई ४८.२ ओभरमै १६३ रनमा सीमित पा¥यो । स्टुआर्ट लको प्रशिक्षकत्वमा नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय जित हात पारेको हो ।

दीपेन्द्रको निर्णायक पालि

नेपालको जितमा दीपेन्द्रले निर्णायक पालि खेल्नुभयो । दीपेन्द्रबाहेक अन्य विशेषज्ञ ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक हुन सकेन । दीपेन्द्र ९० बलमा ७५ रन बनाएर अन्तिम ब्याट्सम्यानका रूपमा आउट हुनुभयो । उहाँको पालिमा पाँच चौका र दुई छक्का सामेल थियो । कुशल भुर्तेल, बसिर अहमद र आरिफ शेखले सुरुवात पाएर पनि त्यसलाई ठुलो स्कोरमा बदल्न सक्नुभएन । भुर्तेलसँग सुरुमै क्रिजमा आएका आसिफ शेख दोस्रो ओभरमै खुजाइमा तनवीरको बलिङमा बोल्ड हुनुभयो । त्यसपछि ‘वन डाउन’ को महìवपूर्ण ‘पोजिसन’ मा ब्याटिङ गर्न क्रिजमा आएका भीम सार्कीलाई पनि तनवीरले नै आउट पार्नुभयो । भीम गलत सट खेलेर मोहम्मद सहदादद्वारा क्याच आउट हुनुभएको हो ।

त्यसपछि भुर्तेल र कप्तान रोहित पौडेल चार रनको अन्तरमा पभेलियन फर्कनुभयो । राम्रो लयमा देखिएका भुर्तेल अजय कुमारको ‘लुज’ बलमा चौका प्रहार गर्न खोज्दा आर्यांश शर्माद्वारा क्याच आउट हुनुभयो । त्यसपछि खराब ब्याटिङ लयमा रहेका रोहित दुई रनमा अजयकै बलिङमा एलबीडब्लु आउट हुनुभयो । दीपेन्द्रले विकेटको एक भागमा आफूलाई कायम राखेर बसिर अहमद, आरिफ शेख, सोमपाल कामी र करण केसीसँग मिलेर उपयोगी साझेदारी निर्वाह गरी नेपाललाई दुई सय रनसम्म पु¥याउनुभएको हो । करणले २२, बसिरले २० तथा आरिफ र सोमपालले १५/१५ रन बनाउनुभयो । युएईका लागि अजय र जुनैद सिद्दिकीले सर्वाधिक तीन/तीन विकेट लिनुभयो ।

त्यसपछि युएईको पालि कमजोर बनाउन नेपालका बलरले एकजुट प्रदर्शन गरे । अनुभवी बलर करणले पहिलो स्पेलमै अदिब उसमानी (१ रन) र मोहम्मद साहदत (२ रन) लाई आउट गरेपछि नेपालले कम स्कोर रक्षा गर्न राम्रो आधार पाएको थियो । करणको बलिङले युएईले पाँच रन बन्दै दुई विकेट गुमाएको थियो । १० औँ ओभरमा दीपेन्द्रले प्रारम्भिक ब्याट्सम्यान आर्यांशलाई १८ रनमा एलबीडब्लु गरेर युएईको स्थिति ३९ रनमा तीन विकेट बनाउनुभयो ।

स्पिनर ललित राजवंशीले आफ्नो पहिलो बलमै राम्रो खेलिरहेका हर्पित सिंहलाई सिकार बनाएर नेपाललाई खेलमा फर्काउनुभयो । हर्पित आउट हुनुअघि ५२ बलमा पाँच चौकासहित ३९ रन बनाएर नेपालको जितमा तगारो बन्न सक्ने ब्याट्सम्यानका रूपमा प्रस्तुत हुनुभएको थियो । हर्पित आउट भएपछि अक्सदीप नाथ र कप्तान मोहम्मद वासिमले पाँचौँ विकेटका लागि ५३ रनको साझेदारी गरेपछि युएईले खेल बराबरीको स्थितिमा पु¥यायो तर अर्का अनुभवी तेज बलर सोमपालले अक्सदीपलाई ३० रनमा आउट गरेर सो साझेदारी तोड्नुभयो । सोमपालले कप्तान वासिमलाई पनि ३४ रनमा आउट गरेपछि युएई खेलमा फर्किन सकेन ।

त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले तनवीरलाई १, निलन्स केसवानीलाई १८ रनमा आउट गर्नुभयो । करणले आफ्नो अन्तिम स्पेलमा हैदर अली (८ रन) र अजय (१ रन) को विकेट लिएर युएईको पालि समाप्त पार्नुभयो । करण ९.२ ओभरमा मात्र १९ रनमा चार विकेट लिएर सर्वाधिक सफल बलर बन्नुभयो । कप्तान रोहितले पहिले ब्याटिङ गरेर २४० रन बनाउने लक्ष्य पूरा ‘लो बाउन्स पिच’ मा सटिक बलिङ गरेमा दुई सय रन पनि पर्याप्त हुन्छ भन्ने आफ्नो टिमलाई ज्ञान भएको बताउनुभयो । उहाँले भन्नुभयो, यद्यपि काम कठिन थियो तर ‘टिम इफोर्ट’ ले कम स्कोर रक्षा गर्न सफल भयौँ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button