मूल खबरहेड लाइन

विद्यालय जान सुरक्षा पहरा

ठिमुराबाट विद्यार्थीलाई ‘स्कर्टिङ’ गरेर विद्यालय पठाइँदै ।

वसन्त पराजुली

नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । यस्तो द्वन्द्व विगतदेखिकै भए पनि हाल आएर बाघ र विद्यार्थीबिच नयाँ समस्या थपिएको छ । त्यसले भरतपुर महानगरपालिका क्षेत्रका विद्यालयमा सन्त्रास बढेको छ ।

निकुञ्ज मात्र होइन सामुदायिक वनबाट समेत वन्यजन्तुको सन्त्रास बढेपछि विद्यार्थीलाई सुरक्षाका लागि सामूहिक रूपमा सुरक्षा पहरासाथ विद्यालय लैजाने र ल्याउने गरिएको छ । भरतपुर महानगरपालिका–१, ठिमुरामा बाघको त्रास बढेसँगै विद्यालय जाने विद्यार्थीलाई सामुदायिक वन र अभिभावकले ‘स्कर्टिङ’ को व्यवस्था मिलाएका छन् ।

ठिमुराबाट झन्डै डेढ किलोमिटर दुरीको रामनगर जङ्गलले परिचित सतनचुली सामुदायिक वन पार गरेर रामनगर माध्यमिक विद्यालय जानुपर्ने विद्यार्थीलाई स्थानीय अभिभावककै पहलमा सामुदायिक वनले एक जना वनपाले खटाएर ‘स्कर्टिङ’ को व्यवस्था गरेको हो । रामनगर माध्यमिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामकृष्ण भुजेलले बालबालिकाको सुरक्षाका लागि वनपालेले ‘स्कर्टिङ’ गराउनुपरेको बताउनुभयो ।

उहाँका अनुसार विद्यालय जाने र फर्कने बेला विद्यार्थीलाई एकै ठाउँमा जम्मा पारेर वनपालेले ‘स्कर्टिङ’ गरी विद्यालय पुर्‍याउँछन् । अध्यक्ष भुजेलका छोरा आदित्यकुमार भुजेल पनि उक्त विद्यालयमा कक्षा ९ मा पढ्नुहुन्छ । अध्यक्ष भुजेलले भन्नुभयो, “यही भदौ २३ गते बाघले एकै घरका छ वटा बाख्रा मारेपछि विद्यार्थीलाई ‘स्कर्टिङ’ गरेर विद्यालय पठाउन थालिएको हो । बाघले बाख्रा खाएकै ठिमुरा निवासी सानीमाया चेपाङकै दुई छोरी शर्मिला र मुना पनि रामनगर माध्यमिक विद्यालयकै विद्यार्थी हुन् । सानीमायाले स्कुल पठाएका छोरीहरू घर नफर्किउन्जेल चिन्ता हुने बताउनुहुन्छ । “पढ्न त पठाउनै पर्‍यो । घर नफर्कंदासम्म किन आएनन् भनेर मन ढुकढुक भइरहन्छ,” उहाँले भन्नुभयो ।

बाघले दसैँमा बेच्न भनेर राखेको एउटा बोका, ब्याउने बेला भएका चार वटा माउ र एउटा सानो पाठो गरी छ वटा एकै दिन खाइदिएको थियो । “माउहरू ब्याउने थिए । बोका दसैँमा बेचौँला, छोराछोरीको पढाइखर्चको जोहो गरौँला र बाँकी पैसाले दसैँ मानौँला भनेको बाघले सबै सपना भताभुङ्ग गराइदियो,” उहाँको गुनासो छ ।

विद्यार्थी मात्र होइन, आधारभूत विद्यालय ठिमुराका प्रध्यानाध्यापक ज्योतिनारायण ढकाल पनि सोही जङ्गल पार गरेर विद्यालय पढाउन जानुहुन्छ । भरतपुर घर भएका प्रअ ढकाल जाँदा आउँदा नियमित बँदेल, चितुवा, बाघलगायतका जनावर देखिरहने बताउनुहुन्छ । ठिमुराबाट रामनगर निस्कने बिचमा पर्ने सतनचुली सामुदायिक वन क्षेत्र बरन्डाभार वन क्षेत्रमा पर्छ । जुन चितवन राष्ट्रिय निकुञ्जदेखि चुरे पहाड शृङ्खलासम्म बाघ, चितुवा, गैँडा जस्ता जनावर नियमित ओहोरदोहोर गर्ने क्षेत्र हो । विगत छ महिनामा ठिमुरा क्षेत्रमा बाघले ५० भन्दा बढी घर पालुवा जनावर मारिसकेको स्थानीयवासीले जनाएका छन् ।

“यस्तो अवस्थामा बाघ, चितुवा जस्ता हिंस्रक जनावरबाट विद्यार्थीलाई बचाउनु अहिलेको चुनौती हो,” प्रअ ढकालले भन्नुभयो । कक्षा ७ सम्म त आधारभूत विद्यालय ठिमुरामै पठाइ हुने गर्दछ । गाउँमा विद्यालय नभएपछि कक्षा ८ भन्दामाथिका विद्यार्थी घना वन क्षेत्र पार गरेर रामनगर पढ्न जान बाध्य छन् । रामनगर माध्यमिक विद्यालयको सेवा क्षेत्रको घरधुरी सर्वेक्षण प्रतिवेदन अनुसार ठिमुराबाट जङ्गल पार गरेर रामनगर माविमा ३० जना, नारायणगढको भानु माविमा १६ जना र विभिन्न संस्थागत विद्यालयमा ४२ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये भानु मावि र संस्थागत विद्यालयहरूले विद्यार्थी लिन गाडीको व्यवस्था मिलाए पनि रामनगरमा पढ्ने विद्यार्थीहरू गाडी नहुँदा जोखिम नै मोलेर हिँडेर आउन बाध्य छन् । ठिमुराबाट रामनगर माविमा कक्षा १२ मा अध्ययनरत सुनिता प्रजा जङ्गलको बाटो हिँड्दा बाघ भेटिएको बताउनुहुन्छ ।

“मैले पनि पटक पटक बाघ देखेकी छु, आफू बचेर हिँड्ने हो,” उहाँले थप्नुभयो, “जति त्रास भए पनि पढ्न छाड्न भएन । अहिले गाउँभरिका विद्यार्थी समूह बनाएर सँगै जाने र फर्कने गरेकाले जङ्गल पार गर्दा जनावरको त्रास कम भएको छ ।”

“मेरो ३ बजे छुट्टी हुन्छ, अरू साथीको ४ बजे तर पनि कुरेरै हामी सँगै घर जान्छौँ,” उहाँले भन्नुभयो । ठिमुराका विद्यार्थीलाई विद्यालयले पनि सँगै विद्यालय आउनजान सुझाव दिएको प्रधानाध्यापक प्रवीण विश्वकर्माले बताउनुभयो ।

“बच्चाहरूलाई राखेर हामीले एक्लाएक्लै नहिँडी समूहमा सचेत भएर हिँड्न सल्लाह दिइरहेका छौँ,” उहाँले भन्नुभयो । पछिल्लो समय बाघको त्रास बढेसँगै विद्यार्थीको सङ्ख्यासमेत बिस्तारै घट्न थालेको अनुभव विद्यालयको छ ।

“ठिमुराबाट भर्ना भएका विद्यार्थी ३० जना हुन् तर अहिले २०/२२ जना मात्र नियमित आउन थालेका छन्,” प्रअ विश्वकर्माले जानकारी दिनुभयो ।

विद्यार्थी सुनिता प्रजा वनपालेको स्कर्टिङ मात्रै स्थायी समाधान नभएको तर्क गर्नुहुन्छ । सडकमा सहज हिँड्नका लागि पहिला बाटोको वारिपारि भएका झाडी फालेर टाढा टाढासम्म देख्न सकिने बनाउनु पर्छ । विद्यार्थी प्रजा भन्नुहुन्छ, “समस्याको दीर्घकालीन समाधान भनेको कि त ठिमुरामै माध्यमिक तहसम्मको कक्षा सञ्चालन गरिनु हो नभए विद्यालयसम्म ओहोरदोहोर गर्न सवारी साधनको व्यवस्था मिलाउनु पर्छ ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button