कृषि र किसान

ओरालो लाग्यो अलैँचीको मूल्य

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २१ गते । हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।

साधारण अर्थात् चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङलिङ बजारका व्यवसायी भद्रवीर रेग्मीका अनुसार अलैँचीको मूल्य घट्दै घट्दै मङ्गलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिब दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको रेग्मीले बताउनुभयो ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीका अनुसार सोमबार प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो ।

एक दिनपछि मङ्गलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो । अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि उहाँको भनाइ छ ।

हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देशबाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताउनुभयो । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर हुने उहाँको भनाइ छ ।

ताप्लेजुङमा उत्पादन हुने अधिकांश अलैँची किसानले बेचिसकेका छन् । स्थानीय व्यापारीका अनुसार करिब ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरिसकेका छन् । अहिले केही व्यापारी तथा किसानले मात्र मूल्य अझै बढ्न सक्ने आशामा अलैँची थन्क्याएर राखेका बताइएको छ ।

लामो समयपछि यस वर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका छन्। हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी झस्किएका छन् ।

ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कुल चार हजार ३०४ हेक्टर क्षेत्रफलमा किसानले अलैँची खेती लगाएका छन् ।

उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button