स्वास्थ्यहेड लाइन

नेपालमै लिङ्ग परिवर्तन सफल

लिङ्ग परिवर्तन शल्यक्रिया सफल भएपछि आयोजित पत्रकार सम्मेलनमा खुसी साट्दै चिकित्सक टोली । तस्बिर सौजन्य : प्राडा ईश्वर लोहनी

सरोज ढुङ्गेल

काठमाडौँ, जेठ २६ गते । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब नेपालमा पनि पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको छ । अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो । “त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक गत जेठ १३ गते मङ्गलबार अमेरिकाबाट चिकित्सक झिकाएर केटाबाट केटी (मेल टु फिमेल) शल्यक्रिया गरिएको हो,” उहाँले भन्नुभयो, “अब भने नेपालकै चिकित्सकको टोलीले लिङ्ग परिवर्तन शल्यक्रिया गर्ने छन् । डा. लोहनीले यस प्रकृतिको शल्यक्रिया पहिलो पटक भएकाले अमेरिकादेखि चिकित्सक झिकाइएको जानकारी दिनुभयो । अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा जयनमान श्रेष्ठले जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर (पिटर) मा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको भन्दै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा. श्रेष्ठले विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा, प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको बताउनुभयो । उहाँका अनुसार पुरुषको लिङ्गको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको हो । उहाँले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने बताउनुभयो । अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग पुष्टि गर्ने शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

“अब लिङ्ग परिवर्तन शल्यक्रिया गर्न विदेश जानुपर्ने बाध्यता हटेको छ,” डा. श्रेष्ठले भन्नुभयो, “विदेशमा धेरै खर्च हुने गर्दथ्यो । लिङ्ग परिवर्तन गर्नका लागि ट्रान्सजेन्डर समुदायका मानिस थाइल्यान्ड, भारतलगायतका देशमा जाने गर्दथे ।” पुरुषबाट महिला बन्नुभएकी पिटरले नेपालमा नै लिङ्ग परिवर्तन गरेपछि विदेश जाने र लाखौँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी गराउनुभयो । प्लास्टिक सर्जन डा. श्रेष्ठका अनुसार नेपालमै उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख रुपियाँ खर्चमा गर्न सकिने छ ।

अस्पतालका प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनीले शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले लिङ्ग परिवर्तन सेवालाई निरन्तरता दिने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button