
झापा / हस्ताक्षर गरेको र नगरेको विषयलाई लिएर झापा कांग्रेसमा आन्तरिक छेडखानी चलेको छ । पार्टी जिल्ला नेतृत्वमा रहनु भएको एक जिम्मेवार पदाधिकारीले हस्ताक्षर गर्ने पक्षलाई “होच्याए” पछि आन्तरिक छेडखानी चलेको हो ।
कांग्रेस झापाका एक पदाधिकारीले ३० प्रतिसत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको सूचना सञ्चार माध्यमलाई दिएर “परिवर्तन पक्षधर” लाई होच्याएको भन्दै हस्ताक्षर पक्षधर आक्रोसित बनेको छ । हस्ताक्षर गर्ने पक्षले ५१ प्रतिसत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेको दाबी गरेको छ ।
हस्ताक्षर नगर्ने पक्ष समयको सही मूल्यांकन गर्न नसकेको, विषम परिस्थितिमा हस्ताक्षरको अभियान चलाएको आरोप हस्ताक्षर गर्ने पक्षलाई लगाउँदै आफ्नो बचाउमा लागेको छ । हस्ताक्षर गर्ने पक्षले इतर समूहलाई रुपान्तरण विरोधी, पुरानै नेतृत्वको पक्षधर र यथास्थितिवादीको संगीन आरोप लगाएको छ ।
त्योभन्दा रोचक पक्ष त झापा कांग्रेसका एक पदाधिकारी पार्टीभन्दा पनि आफूलाई शक्तिशाली देखाउन पदीय मर्यादा बिर्सेर भ्रम फिँजाउन लागिपरेको हस्ताक्षर पक्षधर नेताहरूको टिप्पणी छ । अहिलेकै नेतृत्वको पक्षमा अडिग रहनु भएको ती पदाधिकारी हस्ताक्षर गर्ने पक्ष थोरै रहेको देखाउन लागि परेको दाबी गरिएको छ ।
कांग्रेसको विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने प्रावधान रहेको नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटीले बताउनुभयो । सो प्रावधान अनुसार पाँच निर्वाचन क्षेत्र रहेको झापामा १२५ महाधिवेशन प्रतिनिधि हुन्छन्। पाँच क्षेत्रीय सभापति त्यस्तो प्रतिनिधिको अधिकार राख्छन् । झापाबाट पार्टीको केन्द्रीय पदाधिकारी महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ।
पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईं, सदस्य गोमा भट्टराई, सुशीला ढकाल आचार्य र महिन्द्रा सुब्बा लिम्बु स्वत : त्यो अधिकार राख्नुहुन्छ । तर, झापाका हकमा उनीहरू महाधिवेशन प्रतिनिधि जितेर नै केन्द्रीय सदस्य भएकोले उनीहरूको गणना निर्वाचन क्षेत्रबाट विजयी हुने २५ जना भित्र पर्छ । झापामा थप एकजना गोपाल तामाङ केन्द्रबाट महाधिवेशन प्रतिनिधि तोकिनु भएको छ । जिल्ला एकजना क्षेत्रीय प्रतिनिधि शेरबहादुर थापाले स्थानीय तह निर्वाचनको समयमा पार्टी परित्याग गरिसक्नु भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी हुनुहुन्न ।
झापामा हस्ताक्षर गरेर एकजनाले नाम फिर्ता लिनु भएको छ । झापा ३ का महाधिवेशन प्रतिनिधि सुरजभक्त परियारले हस्ताक्षर फिर्ता लिनु भएको छ । उहाँले उपल्लो तहको नेतृत्वको दबाबमा हस्ताक्षर फिर्ता लिनुभएको दाबी गरिएको छ । झापा ३ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घर रहेको निर्वाचन क्षेत्र हो ।
झापा १ का महाधिवेशन प्रतिनिधिद्वय शोभा श्रेष्ठ नेम्वाङ र डम्बरकुमारी थापामगरले हस्ताक्षर गरेर विज्ञप्ति निकालेर नाम फिर्ता लिएको कुरा असत्य भएको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ” ५१ प्रतिसत बढी छ, यो ३० प्रतिसत मात्रै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे भन्ने व्यक्तिले चलाएको हल्ला हो । ” कांग्रेस झापाको जिल्ला पदाधिकारी तहबाटै चलाइएको यस्तो हल्लाप्रति सचेत रहन र भ्रममा नपर्न सभापति बुढाथोकीले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
सभापति बुढाथोकीले विदेश भ्रमणमा रहनु भएको महाधिवेशन प्रतिनिधि विमल आचार्यले विदेशबाटै र व्यवसायिक सिलसिलामा काठमाडौँमा रहनु भएको धर्मराज भण्डारीले काठमाडौँबाटै गरेको बताउनुभयो । अर्का एकजना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गोप्य राखिएको बतानुभयो ।एकजना महाधिवेशन प्रतिनिधि उषा गुरुङ वैवाह गरेर मोरङ जानु भएको जानकारी दिनुभयो ।
झापा १ मा आफूसहित २२ जनाको हस्ताक्षर केन्द्रमा पठाइएको बताउनुभयो । जिल्लाका पाँच क्षेत्रीय सभापति मध्ये बुढाथोकी र निर्वाचन क्षेत्र ५ सभापति ढुण्डीराज भण्डारीले रुपान्तरणको पक्षमा उभिनु भएको छ । झापा १ मा ८१ प्रतिसतले हस्ताक्षर गरेको बताउनुभयो । झापा ५ का २६ मध्ये क्षेत्रीय सभापति भण्डारीसहित २१ ले हस्ताक्षर गर्नुभएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताउनुभयो । झापा ५ मा ८१ प्रतिसत प्रतिनिधिले हस्ताक्षर गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
सबैभन्दा थोरै झापा ३ त्यसपछि २ र ४ का क्षेत्रीय प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । पार्टी जिल्ला पदाधिकारी कसैले पनि हस्ताक्षर गर्नुभएको छैन । झापा १ का पाँच र ५ का छ जना प्रतिनिधिले हस्ताक्षर नगर्नु भएको हो ।
पूर्वी पहाडमा रहनु भएको झापा २ कि प्रतिनिधि राधा सुब्बा र काठमाडौँमा सीता पौडेल, झापा ४ का क्षेत्रीय सभापति जयनारायण साह, महाधिवेशन प्रतिनिधि किरण भट्टराई, एकराज उप्रेती, कात्तिकलाल राजवंशी र मचिन्द्र शेर्माले हस्ताक्षर गर्ने आश्वासन दिनुभएको हस्ताक्षर पक्षले दाबी गरेको छ । तर, यो समाचार तयार पार्दासम्म उहाँहरु सातजनाले हस्ताक्षर गरेको आधिकारिकता प्राप्त हुन सकेको छैन ।
झापा १ कांग्रेस महामन्त्री शर्मा २०७९ मा निर्वाचनमा संघीय सांसद निर्वाचित भएको निर्वाचन क्षेत्र हो । यो क्ष्रेत्रका दुबै प्रदेश निर्वाचन क्षेत्रका कांग्रेस पार्टी सभापतिद्वय हरि बुढाथोकी र सन्तोष न्यौपानेले हस्ताक्षरप्रति ऐक्यबद्धता र समर्थन जनाउनु भएकोछ। त्यसैगरी कांग्रेस मेचीनगर सभापति सुवेश पनेरु सुदय र बुद्धशान्ति गाउँपालिका सभापति चक्र शेर्मा हस्ताक्षर गर्नेका पक्षमा उभिनु भएको छ । उहाँहरुले विज्ञप्ति निकालेर समर्थन र ऐक्यबद्धता जनाउनु भएको हो ।
हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधि :-
क्षेत्र नम्बर १ :-
इन्द्रबहादुर बुढाथोकी, राम कट्टेल, प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, असोककुमार पोखरेल , लोकराज ढकाल , पुष्पराज पौडेल, खड्गबहादुर धिमाल, कालु मेचे, दुर्गादेवी खतिवडा, चन्द्रकला भट्टराई, सुशीला रिजाल, शोभा श्रेष्ठ नेम्वाङ, डम्बरकुमारी थापामगर, टीका सुवेदी, धर्मराज घिमिरे, रोहितकुमार बुढाथोकी, पोषक दर्जी, गौतम मजुम्दार ” विकी ” विमल आचार्य र धर्मराज भण्डारी ।
क्षेत्र नम्बर २ :-
टीकाप्रसाद प्रसाईं, उमा शिवाकोटी, दीपेन्द्र ढकाल, भूमा घिमिरे, अनोज खड्का, पुण्यप्रसाद ओझा , रमेशकुमार भुजेल र लीलादेवी कटुवाल ।
क्ष्रेत्र नम्बर ३ :-
कृष्णप्रसाद प्रसाईं, बडाराम हेमरम, मनोज सुब्बा, शीला तामाङ, तारादेवी बाह्रकोटी र डम्बरसिंह सिंगु ।
क्षेत्र नम्बर ४ :-
उत्तमबहादुर चौँलागाईं, सीताराम भट्टराई, उत्तम सुवेदी, उजाल अली, भीम राजवंशी, कविता बस्नेत, शान्ता बस्नेत, खड्गबहादुर कार्की, निता सिटौला, देवीकुमारी दाहाल र चन्द्रमणी नेपाल ।
क्षेत्र नम्बर ५ :-
ढुण्डीराज भण्डारी, सुरेश सुब्बा,विश्वदीप लिङ्देन, मेदेनीप्रसाद सिटौला, चन्द्रा खड्का, भूमिराज राई, हुकुमसिंह राई, निरज अग्रवाल, अइन्द्रविक्रम केरुङ, राजनबहादुर ढुंगाना, हेमन्त कार्की , अनिलकृष्ण प्रसाईं, रोहितकुमार साह, भूपालराज कटुवाल, लक्ष्मी बाह्रकोटी प्रसाईं, डा. नेत्र बुढाथोकी, अमर बराइली, टीकाराज सापकोटा, सत्यनारायण चौधरी, रमा लिम्बु र मन्दरादेवी चिमरिया पौडेल ।



