खबरहेड लाइन

नयाँ दललाई हस्ताक्षर पुर्‍याउनै हम्मे

इश्वरचन्द्र झा

प्रस्तावित दलले बुुझाएको नागरिकता र हस्ताक्षर सत्यापन गर्ने सफ्टवेयर आयोगमा छैन । एउटा दलका सदस्य रहेका व्यक्ति अर्को नयाँ दलमा हस्ताक्षर गरे वा सदस्य हुने देखियो ।
काठमाडौँ, मङ्सिर ४ गते । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दललाई पाँच सय जनाको हस्ताक्षर पुर्‍याउन हम्मे हम्मे परेको छ । दल दर्ताका लागि निवेदन दिएका अधिकांश प्रस्तावित दलले सो प्रक्रिया पूरा नगर्दा दर्ताको प्रमाणपत्र पाएका छैनन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दल दर्ताका लागि कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजका नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरेको छ । सो प्रक्रिया पूरा नगर्दा आयोगमा करिब २९ दलका दर्ता प्रमाणपत्र रोकिएका छन् ।

निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने व्यक्ति वा समूहले कसरी दल सञ्चालन गर्छन् ? प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “सामूहिक प्रयासबाट देश र जनताको हितमा सामूहिक उद्देश्य प्राप्त गर्न दलमा व्यक्ति आबद्ध हुने हो । साधारण सभा र सम्मेलन गरेर दल दर्ताको अवधारणासहित प्रक्रियामा जाने हो । त्यत्ति पनि गर्न नसक्नेले दल कसरी सञ्चालन गर्न सक्छ ?”

दर्ता प्रक्रिया रोकिएका २९ मध्ये कतिपय दलले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सनाखतसमेत गराउन सकेका छैनन् । प्रस्तावित दलका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने व्यवस्था छ । बुझाइएका पाँच सय हस्ताक्षरकर्ताले सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नु पर्छ ।

आयोगका अनुसार मङ्सिर ३ गतेसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले दर्ताको प्रमाणपत्र पाएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गतेसम्म दल दर्ताका लागि निवेदन दिएका दलले मङ्सिर १० गतेसम्म नै सबै प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिनुपर्ने छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार उज्यालो नेपाल पार्टीले दल दर्ताका लागि गत साउन २७ गते नै निवेदन दियो । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सनाखत गराइसकेको सो दलले पाँच सय जना नेपाली मतदाताको प्रतिबद्धतापत्र र नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षरसम्बन्धी प्रक्रिया पूरा गरेको छैन । सो दलले हालसम्म ३५९ जनाको हस्ताक्षरको सनाखत गराएको छ ।

स्वाभिमान पार्टीले गत कात्तिक ३० गते दल दर्ताको निवेदन दर्ता गरायो । सो दलका संयोजक सत्यवानकुमार सिंहले प्रतिबद्धतापत्र र हस्ताक्षर बुझाउन समस्या नरहेको बताउनुभयो तर गएको चार दिनमा सो दलले चार सय जनाको प्रतिबद्धतापत्र मात्रै बुझाउन सकेको हो।

कात्तिक २५ गते दल दर्ताको निवेदन दिएको पिपुल फस्र्ट पार्टीले बुधबार मात्रै सो प्रक्रिया पूरा गर्‍यो । केन्द्रीय समितिको सनाखत लगभग टुङ्ग्याइसकेको सो दल दर्ताको अन्तिम चरणमा छ ।

बाँकीको २१ दलको जिल्लामा सनाखतको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे आयोगमा जानकारी आएको छैन । पूर्वआयुक्त गुरुङले अझ पहिला पाँच हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था रहेकोमा दलहरूले काल्पनिक नाम राख्न थालेपछि प्रमाणित गर्न असहज भएकोले सो सङ्ख्या घटाइएको सुनाउनुभयो । प्रस्तावित दलले बुझाएको नागरिकता र हस्ताक्षर सत्यापन गर्ने सफ्टवेयर आयोगमा छैन । त्यसो हुँदा अर्को दलको सदस्य नभएको हुनुपर्ने दलसम्बन्धी नियमावलीको व्यवस्था लागु भए/नभएको यकिन नभएको आयोग स्रोतले जनायो तर अर्को दलको सदस्य नरहेको हस्ताक्षरकर्ताले स्वघोषणा गर्नु पर्छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button