कृषि र किसान

अलैँची निर्यात दोब्बरले बढ्यो

काठमाडौँ, मङ्सिर २१ गते । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ। गत वर्ष सो अवधिमा एक अर्ब ९० करोड ११ लाख २३ हजार रुपियाँ बराबरको १२ लाख छ हजार केजी अलैँची निर्यात भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दा निर्यात दोब्बरले वृद्धि भएको अलैँची उत्पादक सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष निर्मल भट्टराईले यस पटक अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर समयमा किसानले बिक्री गर्दा निर्यातसमेत वृद्धि भएको बताउनुभयो । विगतका वर्षमा अलैँचीको मूल्य नबढ्दा किसानले लामो समय थन्क्याएर पछि बिक्री गर्ने गरेका थिए । यस पटक सिजनको सुरुमै अलैँचीको मूल्य पाउँदा निर्यात बढेको सङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर प्रतिमन (४०केजी) एक लाख पाँच हजार रुपियाँसम्म पुगेको छ । यस वर्ष अलैँचीको उत्पादन १० देखि १५ प्रतिशतले बढ्ने अनुमान गरिएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन बढ्दा निर्यात पनि बढेर करिब आठ अर्ब पुग्ने प्रक्षेपण छ । गत वर्ष सात अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो ।

सङ्घका अनुसार मुलुकभर २० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । त्यसबाट वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैँची उत्पादन हुन्छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button