कृषि र किसान

विस्तार हुँदै स्ट्रबेरी खेती

घोराही–१४, झिँगौराका किसान वीरेन्द्र खड्काको स्ट्रबेरी खेती । तस्बिर : सन्तोष दहित

दाङ, पुस १५ गते । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिनुभएको छ । चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उहाँले भन्नुभयो, “अबको आठ/दस दिनभित्रै खानलाई तयार हुन्छ ।” रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फार्म’ दर्ता गरी व्यावसायिक स्ट्रबेरी खेती गर्दै आउनुभएको छ । गत वर्ष १६ कट्ठामा खेती गर्नुभएका खड्काले यस वर्ष सोही ठाउँमा थप चार कट्ठासहित एक बिघामा स्ट्रबेरी खेती बढाएको जानकारी दिनुभयो ।

उहाँले गत वर्ष झन्डै २५ लाख रुपियाँ बराबरको कारोबार भएको र यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले घोराहीमा स्ट्रबेरीको खेती राम्रो भएपछि यसै वर्षदेखि तुलसीपुरमा पनि पाँच कट्ठामा र गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती गर्दै आएको बताउनुभयो ।

“बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो,” उहाँले भन्नुभयो, “अहिले त्यसैले काम गरिरहेकाले त्यति खर्च भएको छैन तर तुलसीपुर र रोल्पामा चाहिँ करिब त्यस्तै लगानी पुगेको छ ।”

उहाँका अनुसार स्ट्रबेरी दुई महिनादेखि तीन महिनाको बिचमा उत्पादन दिन सुरु हुन्छ । खड्काले यस वर्ष आफूले दुई चरणमा स्ट्रबेरी रोपेको जानकारी दिनुभयो । “पहिलो चरणको असोजको अन्त्यतिर रोपेको थिएँ,” उहाँले भन्नुभयो, “दोस्रो चरणको कात्तिकको पहिला साता रोपिएको हो, यी दुवै चरणमा रोपिएका बिरुवाले अहिले उत्पादन दिने तयारीमा छ ।” उहाँले स्ट्रबेरी प्रतिकिलो आठ सय रुपियाँका दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button