कृषि र किसान

अवैध बाटोबाट दुध र नौनी भारततिर

नारायणगढ, माघ २३ गते । भारतमा दुधको मूल्यमा वृद्धि भएसँगै नेपाली सीमाक्षेत्रबाट चोरीको बाटो हुँदै दुध र नौनी भारत जाने गरेको छ । सीमाक्षेत्रमा रहेका चिस्यान केन्द्रले क्यानमार्फत खेताला लगाएर दुध भारततर्फ लैजाने गरेका हुन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले चोरीको बाटोबाट यति नै दुध भारततर्फ गइरहेको भन्ने यकिन नभए पनि पछिल्लो समय रोक्न नसकिएको बताउनुभयो ।

“सर्लाही, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत सीमाक्षेत्रबाट अहिले दुध भारत लगिँदै छ,” उहाँले भन्नुभयो, “यति नै दुध र नौनी घिउ गइरहेको छ त भन्न सकिँदैन ।”

सामान्य अवस्थामा नेपालमा दैनिक ७५ लाख लिटर दुध र यसबाट एक लाख केजी नौनी उत्पादन हुने बताइन्छ । वैधानिक बाटोबाट छुर्पीबाहेक दुधजन्य कुनै पनि वस्तु अहिलेसम्म भारत निर्यात भएको पाइँदैन । दुग्ध विकास संस्थानका सूचना अधिकारी प्रह्लाद दाहाल औपचारिक बाटोबाट दुध भारत नगएको बताउनुहुन्छ ।

“अनौपचारिक बाटोबारे त थाहा भएन तर औपचारिक बाटोबाट दुध भारत गएको छैन,” उहाँले भन्नुभयो । अहिलेको सिजनमा संस्थानसँग दैनिक आठ लाख केजीसम्म नौनी स्टक हुने भए पनि अहिले त्यो घटेर चार लाख केजीमा झरेको उहाँले बताउनुभयो ।

“हामीसँग अहिले दुध पनि कम सङ्कलन भइरहेको छ । नौनी पनि कम उत्पादन भएको छ,” उहाँले थप्नुभयो, “किसानले पहिलेको तुलनामा अहिले हामीलाई दुध नदिएको पनि हुन सक्छ ।” सरकारी स्वामित्वमा रहेको संस्थानमै दुध सङ्कलन सामान्य अवस्थामा भन्दा कमी हुनु पनि दुध बाहिरै खपत बढी हुन्छ भन्ने देखाउँछ, जसले अहिले चोरीको बाटोबाट दुध भारत गइरहेको कुरालाई पनि थप पुष्टि गर्छ ।

नेपालमा अहिले दुधको औसत मूल्य ९० रुपियाँ प्रतिलिटर छ । भारतमा अहिले यसको मूल्य बढेर योभन्दा माथि पुगेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button