सृजनाको चौतारी

“देशका लागि मृत्यु पनि उत्सव हो”

– देवेन्द्र किशोर ढुङगाना

जीवन स्वीकार्य छ,
जगत स्वीकार्य छ,
तर त्यो जीवनको
अर्थ के
यदि देश नै
अस्वीकार्य बनाइयो भने?

म सास फेरिरहेछु
तर सासमा मातृभूमिको गन्ध छैन भने
यो छाती किन धड्कियोस्?
यो रगत किन बगोस?

त्यसैले—
जीवनभन्दा ठूलो छ
मेरो देश,
मेरो माटो, मेरो जनता।

यसैगरी
सँधै मलाई सहजै
देशका लागि मृत्यु स्वीकार्य छ।

आकाश प्राप्तिका लागि
याे धर्ती प्राप्तिका लागि
प्रत्येक पाईला–पाईलामा
संघर्षका काँडा टेकेर हिँड्दा
यदि रगत चुहियो भने पनि
मलाई त्यो
फूलजस्तै लाग्छ।

किनकि
स्वाधीनताको बाटो
कहिल्यै गुलाफको हुँदैन,
त्यो त बारुद र पसिनाले लेखिएको इतिहास हो।

म खेतको गह्रामा उभिएको किसान हुँ,
म कारखानाको धुवाँमा हराएको मजदुर हुँ,
म सीमामा उभिएको जवान हुँ,
म भोकै पेटमा पनि
झण्डा बोकेको
विद्यार्थी हुँ।

म केवल “म” होइन,
म त करोडौँ नेपालीहरूको आवाज हुँ।

माटोका लागि,
बाटोका लागि
हक र अधिकारका लागि
आमाको आँसु
पुछ्नका लागि
छोराछोरीको भविष्य उज्यालो बनाउनका लागि
यदि ढल्नुपर्‍यो भने पनि
मलाई त्यो हार लाग्दैन।
त्यो त
इतिहासको शपथ हुन्छ।

किनकि
जुन रगत देशका लागि बग्छ
त्यो कहिल्यै मर्दैन,
त्यो त झण्डाको
रातो रङ बन्छ,
त्यो त क्रान्तिको
गीत बन्छ।

हे देश!
तिमी केवल नक्सामा कोरिएको सिमाना होइनौ,
तिमी मेरी आमाको
काख हौ,
मेरो पहिचान हौ,
मेरो अस्तित्व हौ।

तिमीलाई बेच्नेहरूका विरुद्ध
म शब्द बनेर उठ्नेछु,
म नाराबनेर गुञ्जिनेछु,
म आँधी बनेर बग्नेछु।

अन्यायको सिंहदरबार काँपुञ्जेल
भ्रष्टाचारको महल ढलुञ्जेल
जनताको अधिकार फर्किञ्जेल
मेरो पाइला रोकिने छैन।

यदि रोक्न खोज्यौ भने
मेरो आवाज
अझ ठूलो हुनेछ।

यदि थुनेर राख्यौ भने
म भित्ताभित्रै
क्रान्ति लेख्नेछु।

यदि लडाइँमै ढलेँ भने
मेरो ठाउँमा हजारौँ उठ्नेछन्।

किनकि
यो आन्दोलन कुनै एक व्यक्तिको होइन,
यो त पुस्तौँ पुस्ताको सपना हो।

म अनि भावी सन्तानका लागि
सँगै सँधै मुक्ति पाउनका लागि
समानता, न्याय र स्वाभिमानका लागि
यदि बलिदान
दिनुपर्‍यो भने
म पछि हट्नेछैन।

मृत्यु डर होइन,
डर त दासत्व हो।

मृत्यु हार होइन,
हार त मौनता हो।

त्यसैले—
बाँचे देशका लागि बाँच्छु,
लडे देशका लागि लड्छु,
र यदि ढलेँ भने पनि
माटोमै मिसिएर
फेरि अंकुराउँछु।

फेरि झण्डा बन्छु,
फेरि नारा बन्छु,
फेरि क्रान्ति बन्छु।

जीवन स्वीकार्य छ,
जगत स्वीकार्य छ,
तर देश बिना
जीवन अधुरो छ।

यसैगरी—
स्वाधीनता, न्याय र जनताको
सम्मानका लागि
मलाई सहजै
देशका लागि मृत्यु पनि
उत्सवझैँ स्वीकार्य छ।

-पेरिसडाँडा,काठमाण्डोंँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button