
जीवन एक अध्याय हाे
त्यसैले म एउटा खुल्ला किताब हुँ
तिमीले जतिसुकै डाह गरेपनि
हरकसैकाे पुरातन साेचले भरिएकाे
मस्तिष्कले मलाई पढ्न सक्दैन।
निष्पक्ष ,निष्कपट अनि सरस छु म
तिमीहरू मलाई कठाेर देख्छाै
मभित्र सदैव ऊर्जाकाे दीप बलिरहन्छ
हरेक घटना परिघटनामा
सकारात्मकता खाेजिरहन्छु म।
जीवनका कठीन यात्राबाट हिँडेकि हुँ म
लड्दा उठाउने मलाई काेही थिएन
ढाडभरि टाँसिएका अभावका
पतिङ्गरहरू टकटक्याउदै हिँडिरहे निरन्तर ।
म आफैमा आत्तिएकाे थिइन्
मभित्रकाे आँटले घचघच्याइ रहयाे
अब कसैले सुझाउन पर्दैन मलाई
मभित्र रहस्यकाे भण्डार भरिएकाे छ।
मेरा निगाहलाई कसैले पढ्न सकेन
लगार्न ,गिराउन एक्लाे बनाउन धेरै लागे
यथार्थ नबुझी दाेष लगाउनेहरूकाे लर्काे लाग्याे
तर काे हुँ म भन्ने कसैले मलाई पहिचान गर्न सकेन…!


