विचार

राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेलाई कारवाही गर्न कडा कानुन बनाउनुपर्छ

 

कृष्ण हुमागाँई

 

(हाम्रो देशमा त कसैको लहडमा, हुलदङ्गामा, आगजनी, तोडफोडका घटनामा संलग्ने हुनेले, सरकारी सार्वजनिक कार्यालय, सर्वोच्च अदालत, राष्ट्रसेवक कर्मचारी र नागरिकको घरमा आगजनी गर्नेले, मान्छे कुटिकुटी मार्नेले, सपिङ्गमलबाट सर–सामान चोर्नेल, ब्यक्तिको घर तोडफोड गरेरघरभित्र पसी सुन, चाँदी गरगहना रनगद लुटपाट र डकैति गर्ने, दिउँसै चोरेको रक्सी सार्वजनिकस्थलमा पिउने र अस्लिल गालीगलौ गर्नेले पनि काँधमा, कम्मरमा राष्ट्रिय झण्डा बेरेर उपद्रो गर्दै उफ्रेको पनि देखियो । गत २०८२ भदौ २४ गतेका दिन यस्ता थुप्रै अपराध कर्ममा सरिक भएका अपराधीहरुको अनेकन भिडियो फुटेजहरु सुरक्षा निकाय र आम नगरिकका मोबाइल र ल्यापटप, कम्प्युटरहरुमा सुरक्षित संग्रह गरिएका छन् । यो नेपाल राष्ट्रकै बेइज्जती हो । यस्तो कुकार्य गर्नेलाई अहिलेको भन्दा अझै कडा कानुन बनाएरै दण्डित गर्नुपर्छ, रोक लगाउनु पर्छ ।)

 

राष्ट्रिय झण्डाको सबैले सम्मान गर्नुपर्छ, यस कुरामा सायदै दुइमत होला तर, बारम्बार राष्ट्रिय झण्डाको दुरुपयोग मात्र होइन अपमान भइरहेको छ । यसको जथाभावी दुरुपयोग गर्नुहुदैन । राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने पनि बैधानिक ब्यवस्था छ । जनताबाट अनुमोदित भएर राजकीय ओहोदामा पुगेकाले यसको प्रयोग गर्ने हो । अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर भाग लिने ब्यक्ति, निकाय वा संस्थाले प्रयोग गर्ने हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय संसद, प्रदेशसभा, मन्त्रीहरु, नेपाली सेना, प्रहरी, स्थानीय निकाय, नेपाल सरकारका सरकारी निकाय÷आयोग, अड्डा, अदालत, र सरकारी कार्यलायहरु, कलेज, बिद्यालय, सार्वजनिक संस्थान, बार्ड, सरकारी समितिहरुका कार्यालयहरुमा राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी संविधानको अनुसूची १ मा तोके बमोजिम प्रयोग हुने हो । आम सर्वसाधारणले पनि राष्ट्रिय झण्डा र देशको अपमान नहुनेगरी सार्वजनिक हितका लाति लोक कल्याणकारी कार्यमा राष्ट्रि झण्डाको प्रयोग गर्न पाउन प्रवधान छ । तर हाम्रो देशमा त कसैको लहडमा, हुलदङ्गामा, आगजनी, तोडफोडका घटनामा संलग्ने हुनेले, सरकारी सार्वजनिक कार्यालय, सर्वोच्च अदालत, राष्ट्रसेवक कर्मचारी र नागरिकको घरमा आगजनी गर्नेले, मान्छे कुटिकुटी मार्नेले, सपिङ्गमलबाट सर–सामान चोर्नेल, ब्यक्तिको घर तोडफोड गरेरघरभित्र पसी सुन, चाँदी गरगहना रनगद लुटपाट र डकैति गर्ने, दिउँसै चोरेको रक्सी सार्वजनिकस्थलमा पिउने र अस्लिल गालीगलौ गर्नेले पनि काँधमा, कम्मरमा राष्ट्रिय झण्डा बेरेर उपद्रो गर्दै उफ्रेको पनि देखियो । गत २०८२ भदौ २४ गतेका दिन यस्ता थुप्रै अपराध कर्ममा सरिक भएका अपराधीहरुको अनेकन भिडियो फुटेजहरु सुरक्षा निकाय र आम नगरिकका मोबाइल र ल्यापटप, कम्प्युटरहरुमा सुरक्षित संग्रह गरिएका छन् । यो नेपाल राष्ट्रकै बेइज्जती हो । यस्तो कुकार्य गर्नेलाई अहिलेको भन्दा अझै कडा कानुन बनाएरै दण्डित गर्नुपर्छ, रोक लगाउनु पर्छ ।

नीति, बिचार, सिद्धान्त, कार्यक्रम र दृष्टिकोणबिहीन अराजक, उदण्ड जमातलाई राष्ट्रिय झण्डा शरीरका बिभिन्न भागमा भिराएर गत भदौ २४ को बिनासकारी उपद्रव कस्ले गरे गराएको अहिलेसम्म कसैले त्यो सर्वनाशको जिम्मेवारी लिएको छैन । राजनैतिक लाभका लागि रास्वपाले जेन्जी प्रदर्शनको स्वामित्व लिने बताए तापनी आगजनीबाट सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, मन्त्रालयहरु, प्रदेश र स्थानीय तहका कार्यालयहरु, ब्यक्तिका निजी आवास र ब्यवसायिक प्रतिष्ठानहरु, सवारी साधन लगायत गरि खर्बौको धनसम्पत्ती स्वाहाः भएको र प्रहरीले हतियार डाउन गरेको दिन भदौ २४ मा ५५ जनाले ज्यान गुमाएको त्यो हृदयबिदारक घटना कस्ले गराएको थियो ? यो प्रश्नको समयले उत्तर खोज्ने नै छ । शान्तिपुर्ण रुपमा बिरोध गर्न पाउने अवस्था हुँदाहुँदै स्कुले पोषाकमा विद्यार्थीलाई संसद भवनतिर ठेलेर भदौ २३ को घटना गराई १९ जनाको इहलिला समाप्त पारिदिने षडयन्त्रकारीको पनि समयक्रमसँगै पोल खुल्दै जाने नै छ । सामाजिक संजाल खुल्नु पर्यो, भ्रष्टाचारमुक्त सुसाशन कायम हुनुपर्यो भन्ने माग कुनै राजनैतिक माग थिएन । यो अहिलेकै ब्यवस्थाभित्र अवस्थामा सुधारको माग थियो । तर, जेन्जी प्रदर्शनमा पानी बाँडन आएका र फ्री तिब्बत मुभमेण्टका अभियान्ताहरुले विद्यार्थीको यो शान्तिपुर्ण आन्दोलनलाई अपहरण गरेर सरकामा मन्त्री, प्रधानमन्त्री तोक्ने हैसियत एकै रातमा कसरी बनाए ? प्रश्न गम्भीर मात्र होइन, संवेदनशील पनि छ । आखिर लोकतन्त्र भन्दा उत्तम ब्यवस्था आजको विश्व राजनीतिक रङ्गमंचमा देखा परेको छैन भने नेपालको लोकतान्त्रिक प्रणाली र याहाँको संविधानलाई नै घाइते बनाएर २०८४ मा हुने संसदको चुनावलाई २०८२ मा गराउनकै लागि प्रतिनिधिसभा अवैधानिक रुपमा किन विघटन गाराइयो !?! देशलाई बिधि, प्रक्रिया, पद्दती र प्रणालीबाट संचालन गर्ने भन्दा भीडतन्त्रबाट अराजकता र आतंक सिर्जना गरेर अलाउने जुन चेष्टा भइरहेको छ, यो हाम्रो मुलुकको अस्मिता रक्षाका लागि अति नै घातक प्रहार हो । यो सब नेपालको राष्ट्रिय झण्डालाई दुरुपयोग गर्दै हाम्रो सार्वभौमिकता र राष्ट्रियतालाई कमजोर पार्ने देशी–बिदेशी षड्यन्त्रको उपज हो भन्न सकिन्छ ।

कसले कसरी प्रयोग गर्न पाउँछ राष्ट्रिय झण्डा ?

अख्तियार प्राप्त निकाय र ब्यक्तिले पनि राष्ट्रिय झण्डाको प्रयोग गर्दा सधैं सम्मान पूर्वक राष्ट्रहितको काममा मात्र प्रयोग गर्नु पर्दछ । ब्यक्तिगत वा स्वार्थ समूहको निहित उद्देश्य पूर्तिका लागि झण्डाको दुरुपयोग गर्न पाइदैन, हुँदैन । राष्ट्रिय झण्डालाई भुँइमा राख्ने, कुल्चिने, च्यातने, फ्याँकने, जलाउने थुक्ने वा अपमान हुने कार्य गर्न पाइदैन । झण्डालाई सहि तरिकाले फहराउनु पर्दछ । झण्डालाई उल्टो नहनेगरी सिधा राख्नुपर्दछ । चन्दमाको भाग माथि र सूर्य भाग तल हुनेगरी राखिनुपर्छ । अन्य संस्थागत वा बिषयगत झण्डाहरु भएकै स्थानमा राष्ट्रिय झण्डा राख्नुपर्ने भएमा राष्ट्रिय झण्डालाई सँगैका अन्य झण्डाभन्दा माथि वा प्रमुख र अग्लो स्थानमा देखिनेगरी राख्नुपर्दछ । राष्ट्रिय झण्डा बोकेर हिंड्दा आफ्नो शीरभन्दा माथि पारेर मात्र बोक्नुपर्दछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधिस, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, मन्त्रीहरु, प्रदेश प्रमुख, उच्च अदालतका मुख्य न्यायधिस, संवैधानिक आयोगका प्रमुख र तिनका कार्यालयहरु र अन्य आधिकारिक पदाधिकारीको सवारीमा मात्र तोकिएको निश्चित ढाँचामा सवारी साधनको दायाँपट्टिको सानो पोलमा झण्डा राख्न पाइन्छ । अख्तियारप्राप्त अधिकारीको सवारी साधन हो, तर त्यस्तो ब्यक्तिको त्यो सवारी साधनमा यात्रा नभएको अवस्थामा राष्ट्रिय झण्डा फहराउनु हुँदैन । बिशेष राष्टिय« उत्सवहरु, संविधान दिवस, सहिद दिवस, अन्तराष्ट्रि बिशिष्ट पाहुनाको सवारी, अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा त्यस्तो स्थल वा सम्बन्धित कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराइन्छ । राष्ट्रिय झण्डालाई ब्यापारिक उद्देश्यले, बिज्ञापनमा, सामान बेचबिखनमा, कपडामा टेबलक्लोथमा, जुत्तामा शरीरको कम्मर मुनीको भागमा प्रयोग गर्न मिल्दैन पाइदैन । राष्ट्रिय झण्डामा चित्र कोर्ने, च्यात्ने वा स्वरुप बदल्ने गर्न पाइदैन । राष्ट्रिय शोक र बिपत्तिको घडीमा सरकारले निर्णय गरेर निश्चित समय तोकेर राष्ट्रिय झण्डा आधा झुकाइन्छ । तर आम सर्वसाधारणलाई राष्ट्रिय झण्डा झुकाउने अधिकार हुँदैन, पाइदैन । सर्वसाधारणले भिआइपी सवारी नभएको वेला सानो आकारको झण्डा सम्मानजनका रुपमा आफनो गाडीमा, निवासमा राख्न सक्छन् । तर, अख्तियारप्राप्त सरकारी अधिकारीकै जस्तो हुनेगरी नक्कल गरेर त्यही आकार प्रकारमा प्रयोग गर्न पाइदैन । बिहान फहराएको राष्ट्रिय झण्डा बेलुका झिकेर सुरक्षित रुपमा सममाना पूर्वक कच्याककुचुक नपारी राख्ख्नुपर्दछ । राति राष्ट्रिय झण्डा फहराउनै पर्ने अवस्था आएमा उचित उज्यालो प्रकाशको प्रबन्ध गरेर मात्र फहराउन पाइन्छ ।

राष्ट्रिय झण्डाको अपमान गर्नेलाई फौजदारी दण्ड

नेपालको राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डाको माथि उल्लेख भए अनुरसार दुरुपयोग गर्नेलाईमुलुकी अपराध संहिता २०७४ को दफा १६२ अनुसार फौजदारी कसुरमा तीनबर्ष कैद र अदालतले तोके बमोजिम ३० हजार रुपैयाँ जरिवाना सजाय हुन्छ । अदालतको घटनाको प्रकृति, गम्भीता, उद्देश्य, नियत आदिलाई हेरेर सजाय निर्धारण गर्नसक्छ । कसैले राष्ट्रिय झण्डाको अपमान, दुरुपयोग गरेको भनी प्रहरीमा उजुरी परेपछि सरकारी वकीलमार्फत अदालतमा मुद्दा जान्छ र अदालतले कसुरदार ठहर गरेमा दण्ड जरिवानाको भागीदार बन्नुपर्छ, सजाय हुन्छ ।

राजनैतिक दलले कस्तो अवस्थामा राष्ट्रिय झण्डा प्रयो गर्न पाउँछन ?

नेपालका राजनैतिक दल र केही ब्यक्तिमा बढता राष्ट्रवादी देखिने फेशन देखिएको छ । त्यसैले नीति, थिति, बिधि, नियम मिचेर जथाभावी राष्ट्रिय झण्डाको दुरुपयोग हुने गरेको छ । राजैतिक दलहरुले आफ्नो पार्टी कार्यालयमा पार्टीको झण्डाभन्दा अग्लो हुनेगरी राष्ट्रिय झण्डा राख्न पाउँछन् । राष्ट्रिय उत्सव, दिवस वा देशभक्तिपूर्ण राष्ट्र सम्मान कार्यक्रमहरुका ¥याली, सभाहरुमा, राष्ट्र गानको समयमा झण्डाको सम्मानसहित १० वटा झण्डासम्म प्रयोग गर्न पाउँछन् ।

र कस्तोमा पाउँदैनन् ?

पार्टीको चुनाव चिन्ह वा झण्डा जस्तै गरी राष्ट्रिय झण्डालाई जोडेर भोट माग्ने क्रममा, नारा–जुलुसहरुमा बाँड्ने, झुण्ड्याउने, मत माग्ने सामग्री बनाउन, उम्मेदवारको फोटोसँगै राष्ट्रिय झण्डा जोडेर प्रचार सामग्री बनाउन, फलानालाई भोट दिनुहास् वा जिताऔं लेखेर, बोलेर चुनाव प्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइदैन । राष्ट्रिय झण्डालाई टोपी, टी–सर्ट, ब्यानर, चुनावी पोष्टर, किरिङ्ग, स्टीकर, बिन्दुली टिकाको आकार अदिमा पनि दलहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाउँदैनन् । यस्तो गरेको उजुरी परेमा ब्यक्तिालाई भए सरहकै दण्ड जरिवाना हुन्छ दलहरुलाई पनि । निर्वाचन आचासंहिताको उल्लंघन अन्तरगत निर्वाचन आयोगले समेत दलहरुलाई कारवाही गर्नसक्छ ।

अन्त्यमा

नेपालमा पछिल्लो समय राष्ट्रिय झण्डा शरीरमा बेरेपछि जे गर्नपनि छुट हुन्छ भन्ने भाष्य निर्माण गरिएको छ । झण्डा बेरेपछि जस्लाई कुटेपनि, लुटेपनि हुने प्रवृत्ति देखिएको छ । गत भदौको २४ मा पनि यही प्रवृत्ति हावी भएको थियो । लुटपाट, आगजनी र तोडफोड जस्तो अपराध कर्म गर्नेले आफ्नो शरीरमा राष्ट्रिय झण्डा बेरेका थिए । अब त कोही राष्ट्रि झण्डा ओढेर आएको देख्नासाथ ब्यापारीहरुले दोगान पसलको सटर बन्द गर्न थालेका छन् । राष्ट्रि झण्डाको प्रयोगले हौसला, प्रेरणा र उत्साह दिनुपर्छ । उहाँ त राष्ट्रिय झण्डा प्रयोग गर्नेले जनतामा त्रास, आतंक, भय सिर्जना गरिरहेका छन् । राष्ट्रिय झण्डा ओढनेकाप्रति सममान भाव उत्पन्न हुनुपर्नेमा आज कस्लाई लुट्ने हुन्, कस्लाई चुट्ने हन् ? भन्ने त्रासदीको आततायी वाताव।ण देखिन थालेको छ । यस्तो प्रवृत्ति र कार्यले हाम्रो राष्ट्रियता बलियो हुनसक्दैन । देशको माया हुनेले मर्यादामा बसेर देश र जनताको इज्जत, मान–सम्मान हुने हेतुले झण्डाको प्रयोग गर्नु पर्ने हो । तर यहाँ त आफ्नो शरीरमा झण्डा प्रयोग गर्ने मान्छे देख्यो कि आज को लुटपाटमा पर्ने हा ? को मर्ने हो भनेर त्राहीमाम हुनुपर्ने अवस्था बनाएका छन् राष्ट्रिय झण्डाको मर्म र महत्व नबुझ्ने लहडी उदण्ड र अराजकहरुले । तिनले लोकतन्त्र, मानवअधिकार र जनताको सर्वोच्चता बुझेकै छैनन् । अदृष्य शक्तिबाट फगत परिचालित मान्छेहरुले आफनै राष्ट्रको सम्पदा र सम्पत्ति नष्ट पारेका छन् । यस्तो राष्ट्रघाती कार्यमा राष्ट्रिय झण्डाको दुरुपयो र अपमान गर्ने जेकोहिलाई कडा कानून बनाएर कानूनी दयराबाटै दण्डित गर्न ढिला गर्नै हुँदैन । अन्यथा हाम्रो देशमा अराजकतावाद र बेथिति बढेर जान्छ । यस्तो प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भोलीका दिनमा यस्तै तत्वलाई भूमिगत गिरोह र अदृष्य शक्तिले प्रयोग गरेर हाम्रो राष्ट्रियता कमजोर बनाउँदै राष्ट्रिय अस्मिता नै समाप्त पारिदिन सक्छन् । सम्बन्धित सबैलाई बेलैमा चेतना भया ।

लेखक हुमागाँई नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति र नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । मो. ९८५२६७२७५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button