खबर

विर्तामोडमा रक्तदान कार्यक्रम

विर्तामोड ः पछिल्लो समय झापा मोरङ सुनसरीलगायतका जिल्लामा रहेको ठूल्ठुला अस्पतालहरु र स्वास्थ्य केन्द्रसहित रक्त सञ्चार केन्द्रमा समेत रगतको चरम अभावलाई मध्यनजर गर्दै झापाको विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विर्तामोडस्थित सिटी सेन्टर परिसरमा उप्रेती समाज सेवा समिति क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

क्षेत्रीय समितिका अध्यक्ष प्रकाशचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा तीन महिलासहित २४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्राविधिकहरु सचिन थेवे, वृजेश सुवेदी, प्रेरणा राजवशी र तीता रसाईलीले २४ पिन्ट रगत संकलन गरेका थिए । संकलित रगत सवै नेपाल रेडक्रस सो साईटि झापा शाखालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मदन उप्रेतीले २५ औं पटक रक्तदान गरेका थिए भने अनय धेरैले १० औँ पटक बढी रक्तदान गरेको दाताहरुले बताए ।

कार्यक्रममा विर्तामोड रेडक्रस सोसाइटीका सभापति मनोज अग्रवालले झापा जिल्लामा रगतको अभाव भइरहँदा अन्य संघ संस्थाहरुले समेत बृहत् रक्तदान गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । रगत अभावका कारण विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् । रगत अभाव भएका बखत केही संघ संस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गरे पछि धेरै सहजता आउने उप्रेती समाज सेवा समिति झापा जिल्ला का संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेतीले बताए । …रक्तदान जिबन दान जिबन को सबै भन्दा ठुलो दान रक्तदान ’ भएको संस्थापक अध्यक्ष उप्रेतीले बताए ।

…रगत मान्छेका लागी नभई नहुने तत्व हो । जुन पैसा तिरेर किन्न सकिँदैन्, पसलमा पाइँदैन्, र समयमै नपाउँदा मान्छेको जीवन जोखिममा पर्न सक्छ ’ उप्रेतीले भने, …रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व मात्र नभई जीवन जोगाउने पुण्य कार्य पनि हो । ’

सामान्यतया एक पटक रक्तदान गरीसके पछि अर्को पटक ३ महिना पछि रक्तदान गर्न सकिन्छ । रक्तदान गर्नका लागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । रक्तदान गर्नु जीवन दान गर्नु हो । रगत अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले सबैले रक्तदान गर्न जरुरी रहेको सचिव चन्द्रमोहन उप्रेतीको भनाई छ । १८ वर्ष उमेर पुगेका ६० वर्ष उमेर नकाटेका र ४५ केजी माथि वजन भएका जो कोहि स्वस्थ व्यक्तिले रक्तदान गर्न सकिने प्राविधिक थेवेले बताए ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष उप्रेती, वर्तमान अध्यक्ष डिल्लीराम उप्रेती, सचिव चन्द्रमोहन उप्रेतीलगायतले प्रमाण पत्र र फलफूल वितरण गरेका थिए । कार्यक्रमको संरक्षणका रुपमा उप्रेती समाज सेवा समिति झापा जिल्ला, सह आयोजकका रुपमा १, ३ ४ र ५ नम्बर क्षेत्रीय समिति रहेका थिए । कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष प्रकाशचन्द्र उप्रेतीले र सञ्चालन जिल्ला समितिका सचिव चन्द्रमोहन उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button