खेलकुद

फ्रान्सको समस्या बायाँ ‘विन्ग’ र डिफेन्स

न्युयोर्क, असार १६ गते । समूह चरणमा कुल १० गोलसहित फ्रान्सले आफ्नो आक्रमण पङ्क्ति यस विश्वकपकै सर्वाधिक खतरनाक भएको साबित गरिसकेको छ । यद्यपि स्विडेनविरुद्ध मङ्गलबार राउन्ड अफ ३२ मा खेल्दा प्रशिक्षक डिडियसर डेस्च्याम्पसमक्ष बायाँ ‘विन्ग’ मा फ्रान्सको टिममा देखिएको कमजोरी हटाउने चुनौती हुने छ ।

सेनेगल, इराक र नर्वेविरुद्ध सहजै जित हात पारी फ्रान्स समूह विजेता बनेको हो । किलियन एमबाप्पे, ओसमान डेम्बेले र मायकल ओलिससामेल अग्रपङ्क्ति बिनाविवाद यस विश्वकपको सबभन्दा खतरनाक फरवार्ड लाइनअप हो तर पनि बायाँ भागमा विशेषज्ञ खेलाडी थियो हर्नान्डेजले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा स्विडेनविरुद्धको खेलमा लुकास डिग्नेले उहाँको स्थान लिने सम्भावना रहेको छ । अझ बायाँ भागमै फरवार्डमा खेल्ने डिजाइरी डोवेको स्थान ब्राडली बार्कोलले लिन सक्ने छ । सो भागबाट पनि राम्रो मुभ बनेमा ओलिस, एमबाप्पे र डेम्बेले थप खतरनाक हुने छ ।

स्विडेनले डिफेन्सिभ खेलेर सेट पिस र प्रत्याक्रमणमा गोल गर्ने प्रयास गर्ने देखिन्छ । यस प्रतियोगितामा फ्रान्सको डिफेन्सले समय समयमा गल्ती पनि गरेको छ । स्विडेनले सोही कमजोरीको फाइदा उठाउन सक्छ । फ्रान्ससमक्ष समूह चरणमा जस्तो समय समयमा डिफेन्समा गल्ती गर्ने छुट रहने छैन । यद्यपि सेन्ट्रल डिफेन्डर विलियम सालिबाको आगमनले फ्रान्सको डिफेन्स फरक हुने पक्का छ ।

स्विडेनविरुद्धको खेलमा एमबाप्पे पुनः केन्द्रमा रहने छन् तर नर्वेविरुद्ध ह्याट्रिक गरेका डेम्बेले र ओलिसको विपक्षीको डिबक्समा सिर्जनात्मक खेल पनि स्विडेनका लागि टाउको दुखाइ हुने छ । अझ बार्कोला, डोवे, रायन चर्की, जिन फिलिप माटेटा र मार्कस थुराम जस्ता खेलाडी रहेको ‘बेन्च पावर’ अन्य कुनै पनि टिममा रहेको छैन । सन् २०२२ को फाइनलमा अर्जेन्टिनासँग बेहारेको हारलाई अलग राख्न हो भने सन् २०१४ देखि फ्रान्सले अहिलेसम्म विश्वकपका नकआउट चरणमा हार बेहोरेको छैन ।

स्विडेन समूह ‘एफ’ मा उपविजेता बनेर अगाडि बढेको हो तर उसको प्रदर्शन एकनासको छैन । पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराएर गजबको सुरुवात गरेको स्विडेन दोस्रो खेलमा नदेरल्यान्ड्ससँग ५–१ ले नै पराजित भएको थियो । त्यसपछि उसले जापानसँगको खेल १–१ ले बराबरीमा खेल्यो । जापानविरुद्ध स्विडेनले अपेक्षाकृत खेल्न सकेको थिएन । यद्यपि फ्रान्सले धैर्य गुमाएमा स्विडेनसँग स्तब्धकारी नतिजा निकाल्ने पर्याप्त क्षमता छ । स्विडेनसँग पनि अलेक्ज्यान्दर इसाक, भिक्टोर ग्याकेरेस र एनथोनी इलान्गाका रूपमा विश्वस्तरीय स्ट्राइकरको जमात छ ।

आइभरी कोस्टलाई हालान्डको चिन्ता

विश्वकप फुटबल २०२६ अन्तर्गत आइभरी कोस्ट र नर्वेबिच अन्तिम ३२ को खेल हुँदा इर्लिङ हालान्डमा सबैको ध्यान रहने छ तर अफ्रिकी टिम आइभरी कोस्टले पनि नर्वेविरुद्ध आफ्नो आक्रामक क्षमता देखाउने पक्का छ ।

समूह चरणमा हालान्डले दुई खेलमा चार गोल गरेर यस विश्वकपमा आफूमाथि गरेको अपेक्षालाई सही साबित गरिसक्नुभएको छ । हालान्डसहित पहिलो रोजाइका नौ खेलाडीलाई समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध विश्राम दिइएको थियो । आइभरी कोस्टविरुद्धकै खेलमा पूर्ण रूपमा दुरुस्त बनाउनका लागि नर्वेका प्रशिक्षक सटेल सोलबाकेनले सो निर्णय गर्नुभएको हो ।

हालान्डकै कारण २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा लामो यात्रा तय गर्ने अपेक्षा गरिएको छ । त्यसैले आइभरी कोस्ट मङ्गलबार हालान्डलाई रोक्नेमै केन्द्रित हुने छ । आइभरी कोस्टको टिममा डिफेन्समा कहलिएका २२ वर्षीय ओसमान डियोमान्डे हुनुहुन्छ तर आइभरी कोस्टका प्रशिक्षक इमर्स फाईले आफ्नो टिमले ‘फ्रन्टफुट’ मै खेलेर हालान्डलाई बलबाट टाढै राख्ने बताउनुभएको छ । आइभरी कोस्टमा उत्साहित पार्ने प्रतिभाशाली स्ट्राइकर पनि छन् । तीमध्ये किशोर उमेरका फरवार्ड यान डियोमान्डे नर्वेविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । यसै गरी आर्सनलका पूर्वखेलाडी निकोलस पेपे र इन्टर मिलानका आङ्गे योयआन–बोनीमा पनि आइभरी कोस्टको ठुलो आशा हुने छ । पेपेले कुरासाओविरुद्धको खेलमा दुई गोल गर्नुभएको थियो ।

मेक्सिकोलाई घरेलु मैदानको फाइदा

विश्वकप फुटबल २०२६ मा इक्वेडरले सहआयोजक मेक्सिकोविरुद्ध खेल्दा सो टिम मात्र होइन, मेक्सिको सिटीस्थित अज्टेका रङ्गशालामा उपस्थित हुने ८० हजार दर्शकको पनि सामना गर्नुपर्ने हुन्छ । मेक्सिकोले जित हासिल गरेमा जुलाई ५ मा हुने क्वाटरफाइनल पनि अज्टेका रङ्गशलामा नै खेल्ने छ ।

मेक्सिको र इक्वेडर फरक ढङ्गले नकआउट चरणमा पुगेका हुन् । समूह चरणमा मेक्सिकोले तिनै खेल जितेको थियो । यस विश्वकपमा मेक्सिकोबाहेक फ्रान्स र अर्जेन्टिना मात्र समूह चरणमा सबै खेल जित्ने टिम हुन् । इक्वेडर भने अन्तिम खेलमा जर्मनीविरुद्ध पुनरागमन जित निकालेर मात्र अन्तिम ३२ मा पुग्न सफल भएको हो तर जर्मनीविरुद्ध निल्सन अन्गुलो र गोन्जालो प्लाटाको गोलले इक्वेडर अहिले फरक टिम बनिसकेको छ ।

मेक्सिको र इक्वेडरबिच अहिलेसम्म २५ खेल भएका छन् । जसमध्ये मेक्सिकोले १४ खेल जितेको छ । विश्वकपमा भने यी दुई राष्ट्रबिच अहिलेसम्म एक खेल मात्र भएको छ । सन् २००२ मा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई २–१ ले पराजित गरेको थियो । एजेन्सी

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button