मूल खबरहेड लाइन

भनसुनले अब हुँदैन सरुवा

नगेन्द्र सापकोटा

काठमाडौँ, असार २५ गते । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको सरुवाको बेथिति नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भएको हो ।

निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्नेबारे अवगत गराउने गर्छ, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भनसुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो ।

सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत एक सय कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव धोलकराज ढकालले भन्नुभयो, “अहिले कर्मचारी सरुवामा कुनै भनसुन र पहुँच चल्दैन । आफूले जान चाहेको सम्भावित कार्यालय रोजेपछि उक्त कार्यालयमा दरबन्दी भएमा स्वतः सरुवा हुने सफ्टवेयर प्रणालीको व्यवस्था गरिएको छ ।”

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसअघिदेखि नै कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीति अनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउँदै आउनुभएको थियो । सहसचिव ढकालका अनुसार अहिले कर्मचारी सरुवाका लागि मन्त्रालयमा कुनै भिडभाड छैन । रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वतः सरुवा गर्छ । यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुन दुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौँसम्म होटलमा बसेर सरुवा हुन शक्तिकेन्द्र धाउनुपर्ने बाध्यता थियो ।

ढकालले थप्नुभयो, “अहिले अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै सरुवा प्रणालीमा हुँदै आएको प्रक्रियागत ढिलाइ घटेको छ । सरुवामा पारदर्शिता अभिवृद्धि भएको छ । सरुवा प्रणालीप्रति कर्मचारीको विश्वास बढेको छ ।” प्रणाली कार्यान्वयनमा आएको यस अवधिमा २७ जना कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा भइसकेको मन्त्रालयले जनाएको छ । नौ सय जना कर्मचारीले अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिएको उहाँले स्पष्ट पार्नुभयो ।

कर्मचारीको डिजिटल प्रोफाइल

अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै कर्मचारीको डिजिटल प्रोफाइल तयार भएको छ । कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ ।

त्यस्तै कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणालीमार्फत अनलाइनबाटै हेर्न सक्ने छन् । सरुवासम्बन्धी पत्रहरू पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था मिलाइएको छ । सफ्टवेयरलाई राष्ट्रिय किताबखाना (निजामती) को सफ्टवेयरसँग आबद्ध गरिएको छ । कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव, ज्येष्ठतालगायत विषयमा डाटा प्रोसेसिङ हुने गरी कर्मचारीको प्राथमिकता निर्धारण गरिने छ ।

सफ्टवेयरलाई कर्मचारीको व्यक्तिगत विवरणसहित सङ्गठनको दरबन्दी संरचना, कर्मचारी कार्यरत रहेको अवधि तथा रिक्त दरबन्दीको डाटासमेत निकाल्न, विश्लेषण गर्न तथा प्रतिवेदन निकाल्न सक्ने गरी विकास गर्ने तयारी मन्त्रालयले गरेको छ ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले किताबखानाले गत १५ महिनादेखि निरन्तर प्राविधिक जनशक्तिको प्रयोग गरी कर्मचारीको डिजिटल प्रोफाइल तयार गरेको बताउनुभयो । किताबखानाले कर्मचारीको डिजिटल प्रोफाइल तयार गरेकै कारणले अहिले मन्त्रालयलाई अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याउन सहज भएको उहाँले स्पष्ट पार्नुभयो । अहिले किताबखानाका सबै काम पूर्ण रूपमा अनलाइन प्रणालीद्वारा भइरहेको पोखरेलले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button