
काठमाडौँ, असार २५ गते । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचारसंहिता सार्वजनिक गरेको हो । कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा, महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
कर्मचारीले कार्यसम्पादन गर्ने क्रममा कुनै समस्या देखिएमा समाधानका लागि अधिकतम प्रयास गर्नुपर्ने छ । कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने पनि आचारसंहिता बनाइएको छ ।
आफ्नो नाममा रहेको बेरुजु समयमा नै फस्र्योट गर्नुपर्ने, सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष रूपमा निजी स्वार्थ जोडिने गरी निर्णय गर्न नहुने, सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नहुने गरी सरकारले कर्मचारीका लागि आचारसंहिता बनाइएको मन्त्रालयले जनाएको छ ।
गोरखापत्र अनलाइन



