मूल खबर

दुर्घटनापछि फरार चालक रूपन्देहीबाट पक्राउ

रमेश विश्वकर्मा
गुल्मी, असार २५ गते। गुल्मीमा सवारी दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–८ गर्जुरास्थित सडकमा असार २२ गते भएको सवारी दुर्घटनापछि फरार रहेका चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–७ स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका–८ छापाटोलामा बस्दै आएका १८ वर्षीय अफिन कामी रहेका छन्। उनले चलाएको लु १ ज १५२८ नम्बरको सफारी जिप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी रेसुङ्गा नगरपालिका–२ निवासी १८ वर्षीय सुदीप नेपाली गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका चालक कामी रूपन्देहीको सैनामैना नगरपालिका–१ क्षेत्रमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।

पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याई सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button