कृषि र किसानविचारहेड लाइन

कोशी कोरिडोरः आशंका को घेरामा

गोविन्द न्यौपाने

कोशी जैविकमार्गको विषय बजेटमा उल्लेख भएपछि करिब ५० वर्षदेखिको मानव–हात्ती द्वन्द्वको पीडा र त्रासमा बाँच्न विवश नागरिकमा विभिन्न आशंकाहरू मडारिएका छन्।

नेपाल सरकारले भारतबाट आउने जंगली हात्तीलाई कोशी टप्पुसम्म जाने बाटो बनाउन लागेको भन्ने चिन्ताका कारण स्थानीय व्यक्तिहरूको एउटा समूह संगठित भएको छ। पूर्व गा.वि.स. अध्यक्ष निलकण्ठ तिवारीको संयोजकत्वमा “मानव बसोबास तथा कृषि क्षेत्र जोगाऔं“ भन्ने नाराका साथ समुदायमा सचेतना फैलाउने काम भइरहेको छ।

यता सत्तारुढ दलसँग सम्बन्धित केही व्यक्तिहरू भने कोरिडोर भन्ने विषय नै अभियानकर्ताहरूले नबुझेको र स्थानीय चुनावका लागि मात्रै भ्रम छरिएको भन्ने अभिव्यक्ति सामाजिक संजालमार्फत दिइरहेका छन्।
भ्रम के हो, वास्तविकता के हो, तत्कालै निष्कर्षमा पुग्न सजिलो छैन। १५ सेकेन्डका रिल र नेताहरूका अभिव्यक्तिले मात्रै यसको गहिराइ बुझ्न सम्भव छैन। यसका लागि केही अध्ययन र विश्लेषणको सहारा लिनैपर्ने देखिन्छ।

यस आलेखमा नेपाल सरकारको बजेट वक्तव्य आ.व. २०८३÷८४, हात्ती संरक्षण कार्ययोजना २०२५–२०३५, अन्तरसीमा मानव–हात्ती द्वन्द्व न्यूनिकरण कार्ययोजना, र डा. रिन्जन कुमार श्रेष्ठद्वारा गरिएको (ब् ऋबकभ क्तगमथ यल ज्गmबल ध्ष्मिषिभ ऋयलाष्अित ष्ल ल्भउब ि– २००८“ को आधारमा सम्बन्धित विषयलाई स्पष्ट पार्ने प्रयास गरिएको छ। इच्छुक मित्रहरूले यी सामग्रीहरू इन्टरनेटमा सहजै प्राप्त गर्न सक्नुहुनेछ। यस आलेखलाई मात्रै आधार नबनाई थप अध्ययन गर्दा अझ राम्रो निष्कर्षमा पुग्न सकिनेछ।
आशंकाका स्रोतहरू के हुन्?

बजेट र कार्ययोजनाः आ.व. २०८३÷८४ को बजेट वक्तव्यमा “कोशी टप्पुदेखि कञ्चनजङ्गासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकासमा केन्द्रित रही कोशी कोरिडोरको योजनालाई अगाडि बढाइनेछ“ भनिएको छ।
साथै हात्ती संरक्षण कार्ययोजना (२०२५–२०३५) मा पनि हात्ती जैविक मार्ग व्यवस्थापनको कार्यक्रम र बजेट उल्लेख छ। यसमा “विद्यमान बासस्थान र जैविक मार्गको संरक्षण, सामुदायिक वनको सुधार, हात्ती आवतजावत गर्ने क्षेत्रमा वृक्षारोपण र पोखरी निर्माण“ भनिएकाले हाम्रो क्षेत्रमा पनि यस्ता कार्यक्रम हुनेछन् र हात्तीको प्रवेश अझ बढ्नेछ भन्ने आशंका बढेको छ।

अन्तरदेशीय योजनाः अन्तरसीमा मानव–हात्ती द्वन्द्व न्यूनिकरण कार्ययोजनाको १४औं बुँदामा “कोरिडोर कनेक्टिभिटीको सम्भाव्यता अध्ययन“ गर्ने उल्लेख छ। डिभिजन वन कार्यालयको अगुवाइमा नेपाल र भारतका पत्रकारहरूले सरोकारवालाहरूसँग कुनै छलफल नगरी “बाहुन्डाँगी घोषणापत्र“ जारी गरेकाले आशंकाको बादल थपिएको छ।
सरकारले चाहेमा आफ्नो भूमि समेत अतिक्रमण हुन सक्छ भन्ने डर छ। रेलमार्गका लागि लिएको जग्गाको मुआब्जा पनि नदिने, रेलमार्ग नबन्ने, उक्त जग्गा किनबेच र बैंकिङ जमानत नहुने अवस्था भएकाले भोलि सरकारले निश्चित क्षेत्रलाई कोरिडोर घोषणा गरिदिए के होला भन्ने त्रास बढ्दै गएको छ।

वास्तविकता के हो त?
“कोशी कोरिडोर“ भन्नाले कोशी टप्पुदेखि कञ्चनजङ्घासम्मको क्षेत्र बुझिन्छ। कञ्चनजङ्घा ल्यान्डस्केप भनेको कञ्चनजङ्घा वरपरको ठूलो प्राकृतिक क्षेत्र हो। यो नेपाल, भारत, भुटान र चीन गरी ४ देशमा फैलिएको जैविक विविधताले धनी क्षेत्र हो।
नेपालतर्फ ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा र मुख्य संरक्षित क्षेत्र कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज पर्छन्। भारततर्फ सिक्किम र दार्जिलिङ, भुटान र चीनतर्फ पनि केही भाग पर्छ। यो क्षेत्र हिउँ चितुवा, रातो पाण्डा, कस्तुरीको बासस्थान भएकाले यसमा जोड दिइएको हुन सक्छ। तर यसमा हात्ती मुख्य लक्ष्य होइन भन्ने देखिए पनि हात्ती पनि लोपोन्मुख जीव भएकाले पुरै नकार्न भने सकिदैन ।
अध्ययनहरूले हात्तीले सबैभन्दा बढी नोक्सानी धान बालीमा पु¥याउने देखाएका छन् – जुन कुल आर्थिक नोक्सानीको ६५% देखि ७०% सम्म हुन्छ। झापामा प्रति घरधुरी वार्षिक औसत रु. ७,९४२.६५ को धानबाली नष्ट हुन्छ। मकैमा रु. २,४७३.९५ र केरा, सुपारी जस्ता नगदे बालीमा रु. १,६३७.८६ को नोक्सानी हुन्छ। यति ठूलो क्षति बेहोरेपछि हात्तीप्रतिको दृष्टिकोण सकारात्मक नहुनु स्वाभाविकै हो।
निष्कर्ष
जहाँसम्म हात्तीको बासस्थानसम्म पुग्ने कोरिडोर कनेक्टिभिटीको कुरा छ, यो वास्तविक रूपमा सम्भव देखिँदैन। केही समय नेपालमा घुमेर यहाँको बाली खाइसकेपछि हात्तीहरू भारततिर नै फर्कने गर्छन्। यता स्थायी बासस्थान नभएकाले पनि पहिलो प्राथमिकता नेपाली क्षेत्रमा प्रवेश रोक्ने नै हुनुपर्छ।

जब–जब द्वन्द्वको तीव्रता बढ्छ, आम मानिसहरू विभाजित हुने हाम्रो परम्परा नै बन्दै गएको छ। हरेक पटकको द्वन्द्व कम गर्ने बहानामा गैरसरकारी संस्थाको जन्म हुने र तिनैमार्फत कार्यक्रम लादिने उदाहरणहरू पनि छन्। आशा गरौं यसपाली त्यस्तो नहोस्।
कोरिडोरको पक्षमा कोही पनि देखिएका छैनन् तर मत किन बाझिएको हो, बुझ्न सकिएको छैन। हात्तीका कारण विभाजित नहोऔं, एकअर्कालाई आरोप–प्रत्यारोप नगरौं। सचेतना फैलाउने काम राम्रो हो। स्वस्थ छलफल र संवादले हाम्रो सम्बन्ध अझ सुदृढ भई सामाजिक एकता बढ्नेछ भन्नेमा शंका नगर्दा नै राम्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button