खबरहेड लाइन

बगायो कार्यालय तर कार्यक्षेत्रमै कर्मचारी

काठमाडौँ, भदौ १९ गते । भोटेकोशी बाढी प्रभावित क्षेत्रका अधिकांश कार्यालय बगाएको छ । कतिपयले आँखैअगाडि बाढीमा हेलिँदै सँगै काम गर्ने सहकर्मी बेपत्ता भएको देखेका छन् तर पनि उनीहरू उच्च मनोबलका साथ बाँकी प्रभावितको उद्धार, पुनर्स्थापना र राहत वितरणमा खटिएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भिक विवरण अनुसार बाढीबाट अहिलेसम्म कर्मचारी, शिक्षक गरी ६० जना सम्पर्कविहीन भएका छन् । जसमा २५ जना सङ्घीय निजामती कर्मचारी, १९ जना स्थानीय तहका कर्मचारी र १६ जना शिक्षक छन् । बेपत्ता भएका कर्मचारीमध्ये तीन जनाको मृत्यु पुष्टि भइसकेको छ । मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार बाढीले कार्यालय बगाएकाले रसुवा र नुवाकोटका अधिकांश सरकारी कार्यालयमा नियमित सेवा बन्द गरी कर्मचारी नै राहत, उद्धार र पुनर्स्थापनामा खटिएका छन् ।

बाढीले रसुवा भन्सार कार्यालय, प्रहरी चौकी दुई वटा, अध्यागमन कार्यालय, राष्ट्रिय निकुञ्जको चेकपोस्ट, प्लान्ट क्वारेन्टाइनको कार्यालय, उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका प्रशासनिक भवन विभिन्न स्थानीय तहका गरी १२ वटा वडा कार्यालय बाढीले बगाएका छन् । त्यस्तै रसुवाकै उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य कार्यालय, कृषि कार्यालय, पशुसम्बन्धी कार्यालयलगायतका कार्यालय पनि क्षति भएका छन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रेग्मीले अहिले जिल्लाका सबै सरकारी कर्मचारी नियमित काम बन्द गरी उद्धार, राहत र पुनस्र्थापना गर्ने कार्यमा खटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कार्यालयमा बसेर काम गर्नेभन्दा पनि बाढीपीडितको राहत र उद्धार पहिलो प्राथमिकता हो । बाढीपीडितका लागि गरिएको प्रशासनिक काम क्रमिक रूपमा मिलाउँदै जाने गरी काम भइरहेको छ ।”

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले तीन वटा विद्यालयका भवन र एउटा स्वास्थ्य चौकी बाढीको लेदोले पुरिएको जानकारी दिनुभयो । पाण्डेयले थप्नुभयो, “अहिले सबै कर्मचारी दिनरात नभनी चौबिसै घण्टा खटिनुभएको छ । हामी राष्ट्रसेवकको दायित्व पनि यही हो ।”

कर्मचारीहरू तीन वटै तहका जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरिरहेका छन् । कर्मचारीले बाढीबाट निकालिएका शव व्यवस्थापन गर्ने, बाढीपीडितका लागि राहत वितरण, पीडितको तथ्याङ्क सङ्कलन गर्न, अस्थायी वासस्थानको व्यवस्थापनलगायतका कार्यमा उच्च मनोबलका साथ कार्यस्थलमा नै खटिरहेको उहाँले जानकारी दिनुभयो । रसुवाको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले गाउँपालिकाको आफ्नै भवन र भाडामा बसेको दुवै भवन बाढीले बगाएको गुनासो गर्नुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button