मूल खबरहेड लाइन

भोटेकोशी बाढी

धितो र ऋणीमा प्रभावबारे अध्ययन गर्दै राष्ट्र बैङ्क

भेषराज बेल्बासे

काठमाडौँ, भदौ २६ गते । बाढीपहिरोका कारण बैङ्क तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क सङ्कलन भइरहेको छ । नेपाल राष्ट्र बैङ्कले त्यस्तो तथ्याङ्क सङ्कलन गर्दै रहेको राष्ट्र बैङ्कका सहप्रवक्ता सुधा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हाल तथ्याङ्क सङ्कलन गर्ने काम प्रारम्भिक अवस्थामै रहेको र दैनिक रूपमा नयाँ विवरण अपडेट भइरहेका छन् ।

नेपाल बैङ्कर्स एसोसिएसनका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैङ्कका सिइओ सुरेन्द्रराज रेग्मी पछिल्लो समय आएको बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण नेपालको बैङ्किङ क्षेत्रमा ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

हालसम्मको तथ्याङ्क अनुसार बैङ्कहरूको करिब १८ देखि १९ करोड रुपियाँ बराबरको नोक्सानी भएको हुन सक्ने देखिएको उहाँले बताउनुभयो । विशेष गरी बाढी प्रभावित क्षेत्रका ऋणीको धितो राखेको जग्गा, घर र सवारीसाधन बाढीले बगाएर टिमुरे, तातोपानी र त्रिशूली जस्ता क्षेत्रमा धेरै ऋणीले ठुलो क्षति बेहोर्नु परेको उहाँको भनाइ छ ।

नेपाल बैङ्कर्स एसोसिएसनको प्रारम्भिक तथ्याङ्क अनुसार भोटेकोशीको भेलले बैङ्कका १२ वटा बैङ्कका १७ शाखामा करिब ५६ करोडको भौतिक क्षति हुँदा प्रभावित कर्जा र जलविद्युत् परियोजनाको ऋण जोड्दा बैङ्किङ क्षेत्रको प्रारम्भिक वित्तीय एक्सपोजर नौ अर्ब ४९ करोड रुपियाँसम्म पुगेको छ ।

बाढीबाट प्रभावित शाखामा चार अर्ब ४३ करोड रुपियाँ निक्षेप र दुई अर्ब ४२ करोड ८१ लाख रुपियाँ कर्जा रहेको प्रारम्भिक तथ्याङ्क छ । त्यसमाथि प्रभावित चार जलविद्युत् आयोजनामा मात्रै करिब छ अर्ब ५० करोड रुपियाँ बैङ्क ऋण जोखिममा परेको छ ।

सङ्कटमा धितो

बाढीपहिरोले घर, उद्योग र व्यवसाय मात्र बगाएको छैन, बैङ्क तथा वित्तीय संस्थाले कर्जाको सुरक्षणका रूपमा राखेको जग्गाको अस्तित्वसमेत सङ्कटमा पारेको छ । ऋणीको आम्दानीको स्रोत ध्वस्त, धितोको मूल्य शून्य र बिमाले समेत सम्पूर्ण क्षति नधान्ने अवस्था देखिएपछि बैङ्किङ क्षेत्रमा समस्या देखिएको छ ।

सबैभन्दा सुरक्षित धितो मानिएको घरजग्गा नै बगेपछि बैङ्किङ क्षेत्रको परम्परागत जोखिम व्यवस्थापन प्रणालीमाथि प्रश्न उठेको छ । ऋणीको व्यवसायसँगै धितो राखिएको जग्गा नै बगरमा परिणत हुँदा कागजमा रहेको सम्पत्तिको वास्तविक बजार मूल्य कसरी निर्धारण गर्ने र त्यसबाट कर्जा कसरी असुल गर्ने भन्ने अन्योल बढेको हो । यसको स्पष्ट समाधान परम्परागत बैङ्किङ अभ्यास र विद्यमान कानुनी व्यवस्थाभित्र सहज नदेखिने बैङ्किङविज्ञ अनलराज भट्टराई बताउनुहुन्छ ।

बैङ्किङ क्षेत्रमा कर्जा प्रवाह गर्दा ऋणीको सम्पत्ति धितो राख्ने र त्यसको मूल्याङ्कनका आधारमा कर्जा सीमा निर्धारण गर्ने प्रचलन छ । सामान्य अवस्थामा धितो बैङ्कका लागि जोखिम व्यवस्थापनको प्रमुख आधार हुन्छ । प्राकृतिक विपत्तिले धितो नै नष्ट गरिदिएपछि अवस्था उल्टिएको उहाँले बताउनुभयो ।

सबै जोखिम बिमाले धान्दैन

प्राकृतिक विपत्तिबाट हुने क्षतिको जोखिम न्यूनीकरण गर्न बिमा महत्वपूर्ण माध्यम भए पनि नेपालमा बैङ्किङ अभ्यासमा धितोको सम्पूर्ण मूल्य बराबर बिमा गर्नेभन्दा बैङ्कले प्रवाह गरेको कर्जाको रकमलाई आधार बनाएर बिमा गर्ने प्रवृत्ति रहेको बैङ्किङविज्ञ भट्टराई बताउनुहुन्छ ।

उहाँका अनुसार एक करोड रुपियाँ मूल्यको घरमा ५० लाख रुपियाँ मात्र बैङ्क ऋण छ भने बैङ्कको हित सुरक्षित गर्न ५० लाख रुपियाँ बराबरको बिमा गरिएको हुन सक्छ । त्यस्तो अवस्थामा घर पूर्ण रूपमा नष्ट भयो भने बिमाबाट प्राप्त हुने रकमले बैङ्कको कर्जा जोखिम केही हदसम्म सम्बोधन गर्न सक्छ तर ऋणीको सम्पत्तिको वास्तविक क्षति भने बिमा रकमभन्दा धेरै हुन सक्छ ।

डिजिटल डाटा सुरक्षित

बैङ्कका शाखा कार्यालयमा क्षति भए पनि डिजिटल पूर्वाधारका कारण निक्षेप तथा कर्जा विवरण सुरक्षित रहेको छ । बैङ्कले रियल टाइम प्रोसेसिङ प्रणाली प्रयोग गर्नुका साथै केन्द्रीय कार्यालय तथा अन्य स्थानमा डाटा ब्याकअप राख्ने भएकाले ग्राहकको खाता, निक्षेप र कर्जासम्बन्धी डिजिटल अभिलेख पुनः प्राप्त गर्न सकिने सम्भावना उच्च छ । भौतिक कागजात र सम्पत्तिमा समस्या देखिएको छ । सक्कल लालपुर्जा, धितोसम्बन्धी कागजात, सुनचाँदी तथा अन्य महत्वपूर्ण सम्पत्ति शाखा कार्यालयसँगै बगे वा क्षतिग्रस्त भएमा त्यसको पुनः प्रमाणीकरण र व्यवस्थापन कठिन हुने बताइएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button