
काठमाडौं – न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई शुक्रबार आफ्नै क्लबले आयोजना गरेको न्यु डायमण्ड कप प्रतियोगितामा दर्शकहरुको एक समूहबाट सम्मानित भएका छन् । भोजपुरको राई समूहले प्रशिक्षक राईलाई थप हौसला स्वरुप नगदसहित सम्मानित गरेको हो ।
भलिबलमा अनवरत रुपमा लाग्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै कुमार थुलुङ राईको सक्रियतामा शुक्रबार प्रशिक्षक राई नगद २५ हजार रुपैया र सम्मानपत्रले सम्मानित भएका हुन् । राई समूहले हौसला स्वरुप उनलाई सम्मानित गरेको हो । त्यसअघि कुमार थुलुङ राईले व्यक्तिगत रुपमा न्यु डायमन्डलाई ५ हजार सहयोग रकम उपलब्ध गराएका थिए । उनले टोलीकी कप्तान ललिता नाथलाई उक्त रकम हस्तान्तरण गरे ।
प्रशिक्षक राईले विगत १३ वर्षअघि देखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् । डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सिभिल टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले दर्जन बढी उपाधि जितेको छ । प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ र रमिला तन्डुकारजस्ता खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन् । प्रतिभा, रेश्मा र सलिना हाल राष्ट्रिय टोलीका खेलाडी हुन् ।
शुक्रबार ललितपुरमा सम्पन्न भएको प्रदेश ३ स्तरीय महिला तथा पुरुष भलिबल अन्तरगत महिलातर्फ चन्द्रागिरी च्याम्पियन बन्दा टोलीका सम्पुर्ण खेलाडी डायमन्डकै रहेका थिए ।(हाम्रो खेलकुद)



