
काठमाडौँ, माघ ७ गते । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो ।
शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले भन्नुभयो, “शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन् । वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने छन् ।”
स्वीकृत पाठ्यक्रमअनुसार कक्षा १–३ मा विद्यार्थीको कक्षा सहभागिता, कार्य गरे नगरेको मूल्याङ्कन गर्ने, हरेक पाठ पढिसकेपछि परीक्षा लिने र त्यसमा शिक्षक तथा अभिभावकको हस्ताक्षर गराउने, विद्यार्थीको सिकाइ उपलब्धि हेर्ने लगायतका मापदण्ड तोकिएको छ । सो तहमा सामान्यभन्दा कम, सामान्य, प्रवीण र उच्च गरी चार तहमा मूल्याङ्कन विधि प्रयोगमा ल्याइने छ । हरेक पाठपछि लिइने परीक्षामा सामान्यभन्दा कम र सामान्य श्रेणी ल्याउने विद्यार्थीको सिकाइलाई प्रवीण वा उच्च पु¥याउने गरी सुधार गर्नुपर्ने प्रावधान नयाँ पाठ्यक्रममा गरिएको छ । कक्षा १ देखि ३ सम्म वार्षिक परीक्षा हुने छैन ।गोरखापत्र अनलाइन



