
एजेन्सी – फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल र एक असिस्ट सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पीएसजीले डिजोनमाथि ४–० को सानदार जित निकालेको हो ।
पीएसजीको सानदार जितमा एमबाप्पेले दुई तथा पाब्लो साराविया र मोउरो इकार्डीले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्कुन्योसको पासमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
७४औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पार्यो । त्यसको तीन मिनेटपछि एमबाप्पेको पासमा मोउरो इकार्डीले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै पीएसजीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलीलाई १३ अंकले पछि पारेको छ । पीएसजीको २७ खेलबाट ६८ तथा मार्सेलीको ५५ अंक छ । डिजोनको २७ अंक छ ।
अर्काे खेलमा मार्सेलीले निम्समाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । खेलमा पछि परेपनि मार्सेलीले डारियो बेनेडोटोको ह्याट्रिक सहयोगमा उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको हो । निम्सका जिनेदिन फरहात र लुकासले गोल गरे ।hamrokhekkud



