खबर

साढे ४ करोड बराबरको अवैध सुनसहित एक भारतीय पक्राउ

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर प्रहरीले करिब सवा ४ करोड मूल्य बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार विहान करिब ४ः३० बजे हेटौंडा उमनपा वडा नम्बर-१५ स्थित रातोमाटे चेक पोष्टमा उक्त सुन बरामद गरिएको हो । काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बस चेक गर्ने क्रममा भारतको कर्नाटक राज्य बस्ने वर्ष ४२ का अब्दुल मजिद अनेकलउपर शंका लागेर उनले बोकेको झोला चेक गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

झोलामा मोटर पार्टस्भित्र जडान हुने फलामको बेरिङजस्तो देख्ने ४ थान, फलामको पास्ताको बेरिङ २ थान र फलामको मिट बेरिङ २ थान गरी ८ वटा रहेकोमा उक्त फलामका पार्टस्हरु बरामद गर्दा सुनजस्तो देख्ने पहेंलो रंगको धातुका ढिक्काहरु नै सुन रहेको खुल्न आएको थियो ।

उक्त सुनजस्तो देखिने ८ वटा ढिक्का सुनचाँदी व्यबसायी संघ मकवानपुरलाई पत्राचार गरी सुन हो वा होइन र उक्त सामानको तौल तथा मंगलबारको बजार मूल्य खुलाइदिन पत्र पठाउँदा उक्त संस्थाले सुनजस्तो देखिने ढिक्का सुन नै रहेको र जसको तौल ६ केजी २ सय ८९ ग्राम ३ सय ५० मिलीग्राम रहेको पुष्टिसहित बजार मूल्य चार करोड सत्ताइस लाख अन्ठाउन्न हजार सात सय चौहत्तर रुपियाँ रहेको जानकारी गराएको थियो ।

अनेकललाई सुनसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button