
एजेन्सी – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार सामाजिक संजालमा डिबालाले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन् ।
डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो । हाल डिबाला र ओरियाना दुवैमा कुनै स्वास्थ्य समस्या नआएको र दुवै क्वारेनटाइनमा रहेको डिबालाले जानकारी दिएका छन् ।
विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले इटालीमा सबैभन्दा धेरै असर गरेको छ । उत्तरी भेगबाट सुरु भएको भाइरस हाल देशव्यापी हुँदै हजारौंको संख्यामा ज्यान लिइसकेको छ । इटालियन एफएले पनि कम्तिमा अप्रिल पहिलो सातासम्म लिग स्थगित गरिसकेको छ। यद्यपि वर्तमान परिस्थिति हेर्दा उक्त समय अझै लम्बिने बलियो सम्भावना रहेको छ ।hamrokhelkud




