स्वास्थ्य

लकडाउन सुरु, उल्लंघन गरे के हुन्छ कारबाही?

काठमाडौं- सरकारले जारी गरेको ‘लकडाउन’को सूचना मंगलबार बिहान ६ बजेदेखि देशैभर लागू भएको छ। अब एक सातासम्मका लागि घरबाट बाहिर निस्कन पाइनेछैन।

सोमबार साँझ बसेको कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना नियन्त्रणका लागि नेपालभर ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरेको हो।

समितिले आन्तरिक उडानमासमेत रोक लगाउनले निर्णय गरेको छ। यसैगरी, देशभर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णयसमेत आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।

निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो।

सोमबार मात्र काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

लकडाउन अवधिभर अस्पताल, सुरक्षाकर्मी तथा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन सञ्चालन हुने छैन।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक कुनै पनि आन्तरिक उडान सञ्चालन हुने छैन। सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार, क्वारेन्टाइन जस्ता अत्यावश्यक पर्ने कर्मचारी मात्र हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिनेछन्।

औषधि, खाद्यवस्तु, दूध र इन्धन जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समन्वय समितिले गरेको छ।

बैठकले व्यवसायीले औषधि तथा औषधिजन्य वस्तु तथा अन्य अत्यावश्यक वस्तुको कालोबजारी तथा अवैध भण्डारण गर्ने तथा आपूर्तिमा अवरोध गर्नेमाथि कालोबजारी ऐनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको थियो।

संक्रमक रोग ऐनअनुसार भएको यो निर्णय कार्यान्वयनको व्यवस्था मिलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र स्थानीय प्रशासन ऐन २०२८ को आवश्यकताअनुसार प्रयोग गरिने छ।

के हो लकडाउन?
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको बेला त्यहाँका जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने विद्यालय, बजार, बैंक, रेष्टुरेन्ट सबै बन्द भएका थिए।

यी सब वुहानमा देखिएको कोरोनाको महामारी अन्य प्रान्तमा नफैलियोस् भन्नका लागि चीन सरकारले लिएको नीति थियो।

उल्लंघन गरे के हुन्छ कारबाही?

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन अवधिमा सरकारले प्रतिबन्ध गरेका काम गरे १ महिनासम्म वा १ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। ‘व्यवस्था अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ,’ ऐनमा उल्लेख छ। ऐनसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था गरेको छ।

यसका साथै तोकिएको काम गर्ने अधिकारीलाई बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्थासमेत गरेको छ।swsthyakhabarpatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button