फिल्मीखबर, काठमाडौं
नेपालमा कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गरेको छ । यो अवधि लम्ब्याउने तयारीमा सरकार छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । यद्यपि, सरकारले मजदुरहरुका लागि १३ केजी खाद्यान्न घरमै पुर्याउन घोषणा भने गरिसकेको छ ।
‘लकडाउन’ का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई अहिले विभिन्न संघ-संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् । यसबीच, अभिनेत्री वर्षा सिवाकोटीले पनि ज्याला मजदुरी गरेर जीवन चलाउनेहरुलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । आइतवार फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले सहयोग रकम घोषणा गरेकी हुन् ।
उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको भिडियोमा बताएकी छन् । उनले भिडियोमा भनेकी छन्, ‘यो पैसाले आफैंले राहत किनेर ती मजदुरी दाजुभाई दिदी बहिनीसमक्ष पुर्याउने इच्छा थियो तर सरकारले सुरक्षित रहनका लागि ‘लकडाउन’ गरेकाले प्रधानमन्त्री राहत कोषमार्फत् दिने सोच बनाएँ ।’
दैनिक रुपमा सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी अभिनेत्री वर्षा सिवाकोटीले कोरोनाबाट देशलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा मेडिकलसँग सम्बन्धित व्यक्तिहरु र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् । यो विपत्तको समयमा वर्षाले गरेको सहयोगको सम्पूर्णले प्रशंसा गरेका छन् ।




