खबर

कोरोनाविरुद्धको लडाइँ विज्ञानले जित्छ अध्यात्मले होइन : निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन ‘निर्माण’ ले वैज्ञानिक र अनुसन्धानकर्ताहरू कोरोनाविरुद्धको औषधी पत्ता लगाउन प्रयोगशालामा व्यस्त भइरहेका बेला मस्जिद, गुम्बा, चर्च र मन्दिरहरूमा प्रार्थना गर्नेहरू प्रगति र विज्ञानविरोधी धार्मिक पाखण्डीहरू भएको बताएका छन् ।

छिमेकी राष्ट्र चीन कोरोनाविरुद्धको खोप विकास गरेर मानव जीवनरक्षाको विश्वव्यापी लडाइँमा सामेल भैसकेको समयमा हिन्दु धर्मका नाममा दक्षिणएसियामा वर्ण र वर्गविभेदकारी समाज निर्माण गरी मानवताविरोधी हर्कत गर्दै आएका पाखण्डीहरूले दीप बालेर प्रार्थना गरेको भन्दै उक्त कदम हास्यास्पद भएको बताएका छन् ।

नेकपाका नेता निर्माणले पढ्न–लेख्न पाउनेले श्रम नगर्नुपर्ने, श्रम गर्नेले पढ्न–लेख्न नपाउने आपराधिक सामाजिक कानुन बनाएर दक्षिणएसियालाई विज्ञानको विकासबाट पछि पारेका हिन्दु गुरुहरूले फेरि धार्मिक अन्धकारको जालो फालेर जनतालाई मूर्ख बनाएको पनि बताए । भारतमा कोरोनाविरुद्धको लडाइँ आध्यात्मिक तरिकाले लड्न सकिने भन्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई दीप प्रज्वलन गर्न आग्रह गरेपछि नेता पुनले आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

साम्राज्यवादी पुँजीवादीहरू धर्मका नाममा जनताको जीवनमा खेलबाड गरिरहेको भन्दै जनतामा अन्धविश्वासको कुहिरो फालेर आफ्नो असफलता ढाक्ने कुचेष्टा गरिरहेको भन्दै नेता निर्माणले मानवसमाजको इतिहासमा मानव समुदायमाथि आइपर्ने हरसङ्कटको समाधान स्वयम् मानवजातिले सङ्घर्ष र विज्ञानको विकासमार्फत गर्दै आएकोे तथ्य छर्लङ्ग भएको बताए । अहिले विश्व मानव समुदायमा आतङ्क मच्चाइरहेको कोभिड १९ नामको कोरोना भाइरसलाई पनि आध्यात्मिक तरिकाले हैन, भौतिक विज्ञानमार्फत नै परास्त गर्न सकिने र सकिरहेको धारणा उनले व्यक्त गरे । विज्ञानको सङ्घर्षमय उपलब्धिलाई कथित धार्मिक अन्धविश्वासीहरूले विषयान्तर गरी जनताको मनोविज्ञानमाथि झूटको शासन गर्न खोजिरहेको भन्दै उनले त्यसैले धार्मिक अन्धविश्वासको भ्रममा नपरी भौतिकवादी दर्शनलाई आत्मसात गर्नुपर्ने पनि बताए । अध्यात्ममा बढी विश्वास गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न भन्दै देशबासीलाई दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उक्त कदमको भारतीय विपक्षी दलहरूले नै विरोध गरेका छन् ।२०७६, २३ चैत्र आईतवार ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button