मूल खबर

नेपालमा कोरोना संक्रमित १२ पुगे

वीरगन्जको मस्जिदमा बस्दै आएका तीन भारतीयलाई कोरोना, सँगै समूहमा बसेका २१ जना क्वारेन्टाइनबाहिरै

वीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एक संक्रमित दिल्लीका र दुई उत्तर प्रदेशका हुन् । उनीहरू ३७, ४४ र ५५ वर्षका छन् । संक्रमितहरू फागुन पहिलो साता सप्तरीमा भएको एक धार्मिक सभामा सहभागी भएको मुस्लिम धर्मगुरुहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले संक्रमितसहित २४ जनाको समूह सप्तरी, बारा र पर्साका विभिन्न मस्जिदमा बस्दै १५ दिनअघि छपकैयाको जामे मस्जिद आइपुगेको खुलेको जनाएको छ ।

उनीहरूले ४ मार्चमा घर फर्किन ट्रेनको टिकट लिए पनि लकडाउनका कारण रोकिएका थिए । लकडाउन खुल्ने अपेक्षाअनुसार १५ अप्रिलका लागि पुनः टिकट काटेका थिए । घर फर्किनुअघि एकपटक नेपालमै स्वास्थ्य परीक्षा गराउने भन्दै बिहीबार सबैजना नारायणी अस्पताल पुगेका थिए ।

अस्पतालले यो समूहका २४ सहित ३३ जनाको नमुना संकलन गरी परीक्षणका लागि शुक्रबार हेटौँडा प्रयोगशाला पठाएको थियो । नमुना संकलनपछि उनीहरूलाई भने छाडिदिएको थियो । तर, शुक्रबार हेटौँडामा तीनजनाको रिपोर्ट शंकास्पद आएपछि प्रशासन झस्कियो । शुक्रबारै तीनजनालाई मस्जिदबाट अस्पताल लगेर आइसोलेसनमा राख्यो । तर, उनीहरूसँगै मस्जिदमा बसेकाहरू भने आइतबारसम्म पनि क्वारेन्टाइनमा छैनन् ।

शनिबार प्रहरीले वीरगन्जका दुई मस्जिदमा छापा मारेर अन्य २६ जनालाई भने क्वारेन्टाइनमा राखेको छ । मस्जिदमा लुकेर बसेका १९ जना भारतीय धर्म प्रचारकसहित २६ जनालाई छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिल्लीको मुस्लिम तबलगी भेलामा सहभागी भएका १९ सहित २३ भारतीय तथा तीनजना वीरगन्जका मुस्लिम धर्मगुरु रहेको वीरगन्ज– २ वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।

उनीहरूले दिल्लीको तबलगी जमातमा सहभागी भएर तीन महिना पहिलादेखि नै धर्म प्रचारका लागि नेपालमा रहेको बयान दिएको पनेरूले बताए । उनीहरूलाई छपकैया र घुसुकपुरका दुई मस्जिदबाट नियन्त्रणमा लिइएको र सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । आइतबार देशभर सात सय ९५ जनाको कोरोना परीक्षण भएको छ ।nayapatrikadinik/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button