
काठमाडौं । लकडाउनका बेला पनि डिसहोमले आफ्ना सेवालाई चुस्त र दुरूस्त बनाएको जानकारी दिएको छ । डीटीएच प्रविधिबाट घरघरमा टेलिभिजन पुर्याएको डिसहोमले लकडाउनका बेला कुनै पनि नेपाली टेलिभिजन हेर्नबाट वञ्चित बन्नुपर्ने अवस्था नल्याउन सेवा जारी राखेको जनाएको छ ।
डिसहोमले ग्राहकलाई रिचार्ज, मर्मत तथा नयाँ जडानमा कुनै पनि समस्या आउन नदिन देशव्यापी रूपमा नेटवर्कमार्फत् सेवा दिइरहेको छ । टिभी सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले आफूहरूले देशव्यापी सञ्जालमार्फत् सेवा दिएको कम्पनीको दाबी छ ।
लकडाउनका बेला ग्राहकले रिचार्ज कार्ड, फन्ड ट्रान्सफर तथा मोबाइल बैंकिङ र भुक्तानी सेवा प्रदायकबाट टपअपमार्फत् भुक्तानी गर्न सकिन्छ ।
कम्पनीले सम्बन्धित क्षेत्रको सर्भिस फ्रेन्चाइजले रिचार्ज गरिदिने पनि जानकारी दिएको छ । यसका साथै डिसहोमले ग्राहकलाई दिने क्रेडिट सेवा पनि दिइरहेको छ । हाललाई क्रेडिट सेवा ५ दिनबाट बढाएर १० दिन पुर्याएको छ । अहिले पनि नेपालभर दैनिक सयभन्दा बढि संख्यामा टेलिभिजन जडानका लागि ग्राहकले फोन गर्ने गरेको कम्पनीको भनाइ छ ।
कम्पनीको रिजनल सेल्स म्यानेजर जेबी गुरुङले भने, “हामीले विकेन्द्रीकृत हिसाबले देशैभरि सेवा दिने भएकाले अहिले पनि सेवा सुचारु राख्न सहयोग मिलेको छ । वडा–वडासम्म रहेको डिलर तथा सबडिलरको नेटवर्कले गर्दा सजिलो भएको हो ।”
उनले लकडाउन भएपछि रिचार्ज कार्ड नहुँदा फन्ड ट्रान्स्फर सेवामार्फत् सेवा लिनेको संख्या बढेको जानकारी गराए टेलिभिजन सेवा अत्यावश्यक भएका कारण लकडाउनको अवधिमा जडान पनि सहज छ । गुरुङका अनुसार सर्भिस फ्रेन्चाइजमार्फत् जडानमा समस्या छैन । नभएको ठाउँमा पनि ग्राहकको जानकारी लिएर डिलर वा सब–डिलरमार्फत् जडान गरिन्छ ।
यसरी कम्पनीमा जडानको माग गर्नेको संख्या दैनिक १ सयदेखि २ सयसम्म हुने गरेको छ । सरकारले घोषणा गरेका हरेक सूचना पनि टीभीबाटै सर्वसाधारणमा पुग्ने भएकाले ग्राहकको सेवामा कुनै कसुर बाँकी नराखेको दाबी उनले गरे ।



